बाँकेमा ट्राफिक नियम उल्लङ्घनविरुद्ध कडाइ : साढे छ हजार सवारी कारबाही, करिब ५० लाख राजस्व सङ्कलन

बाँके,१७ कार्तिक ।
बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरीले कडाइका साथ कारबाही तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरी ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार ट्राफिक प्रहरी नागरिकप्रति जिम्मेवार र सचेत छ। “हामी केवल राजस्व सङ्कलन होइन, सडक सुरक्षा र सचेतना अभिवृद्धि पनि हाम्रो प्राथमिकता हो,” उहाँले बताउनुभयो।

उहाँका अनुसार जिल्लाभर विभिन्न स्थानमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३० हजार ८७१ जना नागरिकलाई प्रत्यक्ष लाभान्वित गरिएको छ। यस्तै, चालु आर्थिक वर्षको हालसम्म बाँकेमा ३५१ वटा साना ठूला सवारी दुर्घटना भएका छन्, जसमा १५ जनाको मृत्यु र ६४७ जना घाइते भएका छन्।
दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले हाल ‘ट्राफिक नियम उल्लङ्घनविरुद्ध विशेष कारबाही अभियान’ सञ्चालन गरेको छ। सो अभियान अन्तर्गत कात्तिक ७ देखि १५ गतेसम्म मात्र ३८ वटा यात्रुवाहक इभी (EV) गाडी र १९ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार ती इभी गाडीहरू नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसारमा प्रयोग गरिएको पाइएको थियो। यस्तै, स्वरूप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू पनि नियन्त्रणमा लिइ ट्राफिक जरिवाना गरिएको छ।
“ध्वनि प्रदूषण र स्वरूप परिवर्तनजन्य सवारीसाधनलाई अब सहन गरिँदैन,” क्षेत्रीले भने, “सडकमा अनुशासन र शान्ति कायम गर्न प्रहरीले शून्य सहनशीलता नीति अपनाएको छ।”
ट्राफिक प्रहरी कार्यालय बाँकेले सबै चालक र सवारी धनीलाई सडक नियमको पूर्ण पालना गर्न अनुरोध गर्दै सडक सुरक्षा प्रति जिम्मेवार बन्न आह्वान गरेको छ।






