सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

कैलाली ,१७ भदौ।
सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा सोमबार आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका विषयक’ छलफलमा व्यवसायीलाई लगानी गर्न आह्वान गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन गर्न लागिएको जानकारी दिए । उनले त्यस क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्यहरु रहेकाले त्यहाँ नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिमका सम्भावनालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा फैलाउन सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उक्त प्रदेशका प्रतिनिधिमण्डल काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र, विभिन्न गैरसरकारी निकायसँग छलफल गरिरहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले त्यहाँको ऐतिहासिक महत्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले त्यहाँको आर्थिक तथा सामाजिक विकासका निम्ति देशभरका निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।






