जुम्ला-सुर्खेत सडकखण्डमा पहिरो:जुम्लादेखि स्याउ लिएर गएका २० ट्रक अलपत्र

गाेल्डेन बुढा
जुम्ला,१६ भदौ।
तीनदेखि सुर्खेत-जुम्ला सडक खण्ड अन्तर्गतको कर्णाली राजमार्ग अवरुद्ध हुदाँ स्याउ लिएर गएका २० वटा मालवाहक ट्रक अलपत्र परेका छन्।जुम्लादेखि स्याउ ढुवानी गरेका ट्रक तीनदेखि बाटोमै थन्किएका छन्।१४ गतेदेखि जुम्ला-सुर्खेत सडक खण्ड अन्तर्गतकाे शुभकालिका -१ मा पर्ने गगने खाेलामा पहिरो गरेको छ।उक्त ठाउँमा पहिरो संग ठुलो ढुंगा खसेकोले फुटाउन नसक्दा सडक खुल्न सकेको छैन्।तीन दिनसम्म पनि सडक सञ्चालनमा आउन नसकेपछि ट्रकमा राखिएका स्याउ कुहिने त्रास बढेको छ। प्रहरी चौकी नाग्मा कालीकोटका अनुसार तीन दिनमा स्याउ बोकेका २० वटा ट्रक छुटेका छन्। ती ट्रक सडकमा पहिरो आएकाले सुर्खेत-नेपालगन्जका बजारमा पुर्याउन सकिएको छैन । स्याउ बाटोमै कुहिने जोखिम बढेको व्यापारीहरू बताउँछन्।गत वर्षको भन्दा यो वर्ष स्याउ स्वादिलो पनि छ। जुम्लाको हिमा गाउँपालिका -३ माेफ्ला गाउँका स्याउ किसान गोपाल रोकायाले सडकले हरेक वर्ष किसान र व्यापारीलाई घाटा पुर्याउने गरेको दुःखेसो पोखे।भदौ १४ गते ८ वटा, १५ गते ११ वटा र १६ गते एक वटा मालवाहक ट्रक गरि कुल २० वटा ट्रकमा स्याउ लोड भएको प्रहरीले जनाएको छ ।

नाग्मा प्रहरी चौकीका असइ यम शर्माले जुम्लादेखि जाने हरेक मालवाहक गाडीमा स्याउ लोड हुने गरेको बताए । सडकमै स्याउका गाडी थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपाली बताउँछन्। ‘हरेक वर्ष स्याउ निर्यात गर्ने बेला सडकमा पहिरो आउँदा र वर्षा धेरै हुँदा हामी आजित छौं,’ उनले हरेक करोडौं नाेक्सान हुन्छ।जुम्लादेखि स्याउ लिएर गएका कालीबहादुर रोकायाले अहिलेको वर्ष पनि पहिरोले दुख्ख खेप्नुपरेको सुनाए। मैले ४ हजार केजी स्याउ बिक्रीका लागि लिएकाे छुँ। सडक नखुल्दा बाटोमै थन्किएकाले बजारमा स्याउ पुर्याउन कठिन छ ।यता कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष १३ हजार मेट्रिक टन स्याउ फल्ने अनुमान छ । स्याउका झन्डै ५ लाख बिरुवामा असिनाले क्षति पुर्याएको छ । ‘स्याउको उत्पादन कम भएकोले मूल्य बढ्ने देखिएको थियो,’ किसान रोकायाले भने, ‘तर समयमै बजारसम्म लैजान नसक्दा घाटा बेहोर्नुपर्ने देखियो ।’गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्व भएपछि ६३ वटा स्याउ बोकेका मालबाहक ट्रक अलपत्र परेका थिए । स्याउ कुहिएर लाखौंको क्षति भएको थियो।
व्यापारी मारमा परे।यस्तै सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाउन ब्लाष्टिङको तयारी गरिरहेको छ। कार्यालय प्रमुख दीपेन्द्र चौधरीले ब्रेकरले लगाएर पनि ढुंगा नफुटेकोले ब्लाष्टिङको तयारी भएको बताए । उनले भने, ‘अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिति छैन । कालीकोट प्रहरी प्रशासन र सेनासँग समन्वय गरी ब्लाष्टिङ गर्ने तयारी भइरहेको छ ।’तत्काल सडक खुलाएर जुम्ली स्याउ सहजै रुपमा बजारमा लैजाने वातावरण बनाउन जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले दबाब दिइरहेका छन् । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारसम्म पुग्ने गरेको छ । किसानले यो पटक बगैंचामै प्रतिकेजी ७० रुपैयाँ मूल्य हालेका छन। जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।यस्तै मुगु,डाेल्पा,हुम्ला,जुम्ला र कालिकोट बाट गएका हजारौं यात्रु अलपत्र परेका छन्,स-साना सवारीसाधन चल्ने अवस्था छैन।ठुलो सवारीसाधन गाह्राे छ,खुल्न अझै समय लाग्नेछ।महिला,बालबालिका,जेष्ठनागरिक,अपांगहरु पिडा खेप्नुपरेको छ।उनलेे भने,के खाने कहाँ बस्ने, समस्या छ।शनिबार विहान सँवा १५ बजेदेखि पहिरोले अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।






