अब यसरी हुँदैछ वीरेन्द्रनगरको निगरानी  संवेदनशील क्षेत्रमा जोडिँदैछन् सीसी क्यामरा

ओम शाही
सुर्खेत, १५ साउन ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुटु मंगलगढी चौकमा गत साता एका विहानै एक युवकमाथि चक्कु प्रहार भयो । अपरचित व्यक्तिहरुले ती युवकको आँखामा लक्षित गरी चक्कुु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचार जारी छ । वीरेन्द्रनगरमा बढी मानिसको आवतजावत हुने मुख्य क्षेत्रमा भएको चक्कु प्रहारको घटनामा संलग्न व्यक्तिहरुलाई पत्ता लगाउन प्रहरीलाई निकै सास्ती व्यहोर्नु पर्‍यो ।
घटना लगत्तै सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले बल्लतल्ल चक्कु प्रहारमा संलग्न व्यक्तिको पहिचान गरेको छ, तर उनीहरु अहिले प्रहरीको फरार लिष्टमा छन् । यस्तै एक महिनाअघि मुख्य बजार क्षेत्रमा एक युवतीको डेढ लाख रुपैयाँ उनको कोठाबाटै चोरी भयो ।
कोठाबाटै पैसा चोरी भएपछि प्रहरी समक्ष पुगेकी उनले हालसम्म पनि पैसा फिर्ता पाउन सकेकी छैनन । केही महिनाअघि वीरेन्द्रनगर–४, स्थित मुलपानी चौक नजिक एक स्कुटरले पैदल यात्रुलाई ठक्कर दियो । तीव्र गतीको स्कुटरको ठक्करबाट एक जना गम्भीर घाइते भएका थिए । सडकमा हिँडिरहेको अवस्थामा ठक्कर दिएर भागेको सो स्कुटरको पहिचान हालसम्म पनि खुल्न सकेको छैन ।
माथि उल्लेखित घटनाहरु प्रतिनिधि मुलक हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीलाई निकै चुनौती झेल्नुपर्ने अवस्था छ । तर, अब भने प्रहरीलाई यस्ता अपराध तथा दुर्घटनाका घटनामा अनुसन्धान गर्न सहज हुने भएको छ ।
प्रहरीलाई अनुसन्धानमा सहज मात्रै होइन, अब वीरेन्द्रनगरमा हुने यस्ता अपराधका घटनामा संलग्न हुने व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउन सहज हुनेछ । वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रहरुमा सीसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । बिहिबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा तीन सय ५५ स्थानमा सीसी क्यामेरा जडानको प्रक्रिया थालेको हो ।
जसका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेत बीच त्रिपक्षीय  सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिपक्षिय सम्झौता अुनसार पहिलो चरणमा ६ महिनाभित्र एक सय पाँच वटा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्ये नजर गर्दै थप दुई सय ५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसी क्यामेरा जडान गरिने छ ।
नगरपालिकासँग भएको समझदारी पत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सीसी क्यामेरा र वाइफाई हटस्पट जडान गर्नुपर्ने छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाको रुपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानहरुमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीय स्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/०८३ भित्र तीन सय ५५ स्थानमा सीसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ ।
यसरी जडान भएका क्यामेरालाई २४ सैं घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ । साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं. ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरीका दुई स्थानमा वाइफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नगरका विभिन्न क्षेत्रमा जडान हुने सीसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्ने छ भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले २४ सैं घण्टा निरानी गर्नेछ ।
त्यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मत सम्भार गर्नेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
शान्ति सुरक्षा चुस्त बन्ने अपेक्षा 
वीरेन्द्रनगरमा बढ्दो जनसंख्याका कारण लागुऔषध दुर्व्यसनी, चोरी डकैती, झै–झगडा, सडक दुर्घटना तथा अन्य सुरक्षा चुनौतीलाई प्रविधिमार्फत नियन्त्रण गर्न सीसी क्यामेरा जडान गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन । कार्यपालिकाको बैठकबाट नगर गौरवको आयोजनाको रुपमा वीरेन्द्रनगरलाई व्यवस्थित सहर बजाउने योजना अनुरुप बिधिको शासनलाई प्रविधिमा जोड्ने प्रयास थािलएको उनले बताइन ।
उनका अनुसार सीसी क्यामेराबाट २४ सैं घण्टा नगर क्षेत्रको निगरानी गरिनेछ । ‘वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै यहाँको ठुलो चुनौती सुरक्षा बनेको छ,’ ढकालले भनिन्, ‘पछिल्लो समय अपराधको दायरा बढ्दै गएको अवस्थामा वीरेन्द्रनगरलाई अपराध मुक्त बनाउने हाम्रो लक्ष्य हो ।’ नगर क्षेत्रमा निर्माण गरिएका सार्वजनिक पूर्वाधारको निगरानी गरी वीरेन्द्रनगरलाई सुरक्षित, स्वच्छ, सफा र व्यवस्थित सहर बनाउने लक्ष्यका साथ अघि बढेको उनले बताइन । सीसी क्यामरा जडानपछि प्रहरीलाई जुनसुकै घटनामा पनि अनुसन्धान गर्न सहज हुने ढकालको विश्वास छ ।
‘सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी प्रशासनलाई अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गराउन सहज होस् भन्ने हेतुले नगरपालिका अघि बढेको छ,’ ढकालले भनिन् । यसबाट नागरिकलाई सुरक्षाको प्रत्याभूत हुने अपेक्षा उनको छ । उनका अनुसार टेलिकमसँग भएको सम्झौता अनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्ति क्षेत्र बनाएर अध्ययन तथा अनुसन्धान स्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशिल तथा नवप्रवद्र्धनात्मक कार्य गर्न निशुल्क वाइफाइ जडान गर्न लागिएको छ ।
उनले यसअघि वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका लागि सोलार प्रविधिमा आधारित सडक सौर्य बत्ती, आकाशे पुल तथा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ भइसकेको बताइन । यस्तै, नगरपालिकासँग सीसी क्यामेरा जडान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका प्रमुख कमल लामिछानेले स्मार्ट सिटीको पूर्वाधार तयार गरिरहेको वीरेन्द्रनगरले सुभारम्भ गरेको सीसी क्यामेरा जडानले राष्ट्रको डिजिटल दशक घोषणालाई सघाउ पुर्‍याउने बताए ।
यसले वीरेन्द्रनगरको सहरी सुरक्षा अनुगमनमा ठुलो टेवा पुग्ने उनले बताए । सम्झौता अुनसार गुणस्तरी सेवा दिन प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले प्रविधिमा आएको परिवर्तनसँगै यससँग जोडिएर आउने साइबर अपराध नियन्त्रणमा वीरेन्द्रनगरले थालेको अभियानलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताए । यसबाट राज्यले आमगरिकप्रतिको दायित्व पूरा हुने उनको भनाई छ । सन् २०३० सम्म सबै पालिकालाई डिजिटलमैत्री बनाउन सरकारले थालेको अभियान पूरा गर्ने गरि गुणस्तरीय दुरसञ्चार सेवा प्रवाहमा टेलिकम लागि परेको दावीसमेत गरे । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामेराले यहाँको शान्ति सुरक्षा मजबुद बनाउन सघाउ पुर्‍याउने बताए ।
अब यसरी हुँदैछ वीरेन्द्रनगरको निगरानी  संवेदनशील क्षेत्रमा जोडिँदैछन् सीसी क्यामरा

जुम्लामा पनि मनाइयो काेदाे दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds