सम्पादकीय : कैलाश मानसरोवरबाट लाभ किन नलिने ?
पृथ्वीको स्वर्गको रुपमा परिचित छ, कैलाश मानसरोवर । यसलाई भगवान शिवको बासस्थानको रुपमा विश्वास गरिन्छ । चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर समुद्र सतहबाट ६ हजार ६ सय ३८ मिटरको उचाइमा अवस्थित छ ।
संसारभरका हजारौं भक्तजनहरु कैलाश मानसरोवरको दर्शनका लागि जाने गरेका छन् । हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्नाले सबै पापहरु मेटिने र शरीरमा भएका सबै रोगहरुबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
हिन्दुहरुको पवित्र धर्म ग्रन्थ रामायणमा गरिएको बयान अनुसार मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आम विश्वास छ । मानसरोवरको पानीलाई स्पर्श मात्रै गर्न सके पनि मोक्ष प्राप्ति हुन्छ भन्ने मानिन्छ । यही मान्यताका कारण जिन्दगीमा एक पटक कैलाश मानसरोवरको दर्शन गर्नु आवश्यक छ भन्ने हिन्दु मान्यता रहेको छ ।
यति महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कैलाश मानसरोवर जाने मुख्य मार्ग भनेकै कर्णाली हो । तर सुर्खेतबाट मानसरोवर जाने भरपर्दो माध्यम छैन् । नेपालगञ्जबाट आइतबार इतिहासमै पहिलो पटक नीजि क्षेत्रको विमान कम्पनी श्री एअरलाईन्सले नेपालगन्जदेखि विमान चार्टर गरेर सोझै कैलाश मानसरोवरको हवाईजहाजबाट दृश्यावलोकन गराउन सुरु ग¥यो ।
यसले पर्यटकमाझ आशाको सञ्चार जगाएको छ । विशेष गरी नेपालगञ्जका पर्यटन व्यवसायी उत्साही छन् । हवाइ माध्यमबाट हुम्ला पुग्ने यात्रुहरुले पनि नेपालगञ्जलाई ट्रान्जिट बनाउने गरेका छन् ।
कर्णाली प्रदेशसंग सुर्खेतबाट हुम्लाको सिमिकोट हुँदै पर्वतीय उडानको विकास गर्न गर्न सकिने आधार पनि छ । तर यस तर्फ ध्यान पुग्न सकेको छैन् । कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि वर्षेनी हजारौं पर्यटकहरु हुम्ला भएर जाने गरेका छन् । यसको कसरी फाइदा लिने सुर्खेतका व्यवसायीले पनि सोच्न ढिला भइसकेको छ ।
धार्मिक पर्यटकहरु सबैभन्दा धेरै भारतबाट कैलाश मानसरोवर दर्शन गर्न जाने गरेको तथ्यांकले देखाउँछ । यसको सबैभन्दा ठूलो बजार भारत नै हो । स्थलमार्ग मार्फत मानसरोवर जानेहरुको संख्या धेरै छ । सबैभन्दा छोटो रुट पनि कर्णाली प्रदेशबाटै हो । पर्वतीय उडानको नयाँ रुट तय हुनु खुशीको कुरा हो । अब कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकलाई कर्णाली प्रदेशले सुर्खेतको काँक्रेविहार, डोल्पाको त्रिपुरासुन्दरी, तथा रारा र शे–फोक्सुण्डो जोडेर तीन रुटमा लैजाने प्रयास गर्नुपर्दछ । यसका लागि प्रदेश सरकार र विशेष गरी प्रदेश राजधानीका व्यवसायीले पनि आवश्यक पहल गर्न जरुरी छ ।
भारत तथा अन्य देशबाट आन्तरिक यात्रुहरु कर्णाली टेक्ने वातावरण भएको खण्डमा मात्रै कर्णालीको पर्यटन व्यवसाय प्रर्वद्धन हुनसक्छ । कर्णाली प्रदेशको हुम्लाबाट कैलाश मानसरोवर दर्शन गर्ने परम्परा उहिले देखिको हो । विगतमा लाखौं दर्शनार्थीहरु कैलाश मानसरोवर दर्शन गर्न कर्णालीको बाटो प्रयोग गरेर जने गर्दथे ।
त्यसले गर्दा हुम्ला लगायतका जिल्लामा पर्यटकहरुको चाप हुने गर्दथ्र्यो । बरु सरकार, निजी क्षेत्र लगायत एयरलाइन्सहरु मिलेर सुर्खेतबाटै कर्णालीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दर्शन तथा अवलोकन गर्ने व्यवस्था गराउन पहल गर्न आवश्यक छ । तबमात्र कर्णाली प्रदेशले पर्यटन विकासको लागि ठूलो आधारशिला तय गर्न सक्दछ । कैलाश मानसरोवरबाट नेपालगञ्ज र हुम्लाले मात्र होइन, सिंगो कर्णाली प्रदेशले लाभ लिन सकेको खण्डमा प्रदेश रुपले आर्थिक समृद्ध बन्न सक्दछ ।





