कर्णाली प्रदेशको फुटबल टिम बनाउन जुम्लामा छनोट प्रतियोगिता हुँदै


जुम्ला फुटबलको लागि उर्वर भूमि हो,भनेर चिनिन्छ । नियमित रुपमा खेल नहुनाले उल्लेख्य उपलब्धि हासिल हुन नसकेको खेल क्षेत्रका जानकारहरु बताउँछन् । तर पछिल्लो समय जोखिम मोलेर पनि खेल क्षेत्रको विकास गर्ने प्रयत्न भइरहेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए ।

यसैको परिणामा कर्णालीको बलियो टिम बनाउन प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुन लागेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सामेल हुने कर्णालीको बलियो टिम बनाउन प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुन लागेको हो ।

प्रतियोगिता फागुन १५ गतेदेखि सुरु हुनेछ । जुम्लामा पहिलो पटक आयोजना हुन थालेको प्रदेश स्तरीय फुटबल प्रतियोगिता फागुन १९ गते सम्पन्न हुने महासचिव हमालको भनाइ छ । उनले भने, ’कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल संघ, जिल्ला खेलकुद विकास समितिको समन्वय र जुम्ला जिल्ला फुटबल संघको आयोजनामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुनेछ।’

प्रतियोगिताबाट छानिएका खेलाडी सम्मिलित टिमले ०८१ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्नेछ,भने सोही टिमले फागुन २४ देखि ३० गतेसम्म बागमती प्रदेशमा हुने अन्तर प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा समेत कर्णालीको प्रतिनिधित्व गर्नेछ । जुम्लामा हुने छनोट प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी सहभागिता रहने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढथापाले बताए ।

उनले भने, ’फागुन ११ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरि सक्नु पर्नेछ । टिम दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटर प्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावली सहितको पत्र संघको इमेलमा पठाउनु पर्ने गरि सूचना गरिएको छ ।’ प्रतियोगितामा सहभागी टिममा १५ खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि १७ जना हुनुपर्ने महासचिव हमालले बताए ।

उनले थपे, ’प्रतियोगिता सुरु भएदेखि आफ्नो टिमको खेल सकिदासम्म प्रत्येक टिमका खेलाडीले जनही एक हजार भत्ता पाउने व्यवस्था गरिएको छ ।’खेल संस्कृतिको विकास हुन नसक्दा जुम्लामा विगतमा रेफ्रीको निर्णय नमान्ने, रेफ्री कुट्ने, मनमौजी दबाब दिने, नमाले खेल हुन नदिने लगायतका अमर्यादित गतिविधि हुने जुम्लामा प्रदेश स्तरीय छनोट प्रतियोगिता हुनु सुखद पक्ष भएको हमालले थपे। ’जिल्लामा आयोजना हुने अधिकांश खेल विवादित छन् ।

तथापि हामी खेल संस्कृतको विकासका निम्ति अहोरात्र खटिरहेका छौं,’ उनले भने, ’निकै कठिन मेहनतका साथ जुम्लामा फुटबल संघ स्थापना भएको हो। संस्कार विकास गर्न केही समय अझै लाग्ने देखिन्छ।’मोजाको बलबाट सुरु भएको जुम्लाको फुटबलले जन्माएका खेलाडी देशको प्रतिष्ठित ए डिभिजन लिक खेल्ने भएका छन् ।

धान काटेपछि बाँझा भएका खेत र स्कुलका खाली चौरमा खेल्दै जन्मिएका खेलाडीका लागि हालसम्म प्रशिक्षण केन्द्र र एकेडेमी बनेका छैनन् तथापि खेलाडीहरुले फ्रि किक हान्ने, छलाउने, पास दिनेलगायत उत्कृष्ट कला प्रदर्शन गरिरहेका छन्। निरन्तर खेल आयोजना नहुनु ।

आयोजना भए पनि खेलाडी मुठभेटमा उत्रिनु । त्यसैलाई निहुँ बनाएर सम्बन्धित गाउँका मान्छेसमेत मिलेर झगडामा सामेल हुनुले जुम्लामा खेलकुदको विकास हुन सकेको छैन । थुप्रै प्रतिभावान खेलाडीले आफ्नो प्रतिभा दबाएर राख्नु परेको स्थितिमा कर्णाली प्रदेश स्तरीय छनोट प्रतियोगिताको आयोजना गर्न पाउनु सुखद पक्ष भएको अध्यक्ष बुढथापाको भनाइ छ।’

हिजो जुम्लामा फुटबल संघ चाहिन्छ भन्दा काठमाडौंमा भूगोलको अनुभूति नै नगरेकाहरु जुम्ला जस्तो भिरमा फुटबल हुन्छ? भनेर प्रश्न गर्थे,’ बुढथापाले भने, ’आज हामी त्यही भूमिमा प्रदेश स्तरीय खेल गर्न सक्ने भएका छौं ।

मंगलवार समग्र राष्ट्रकै प्रतियोगिता गर्ने स्थितिमा पुग्नेछौं ।’ कर्णाली प्रदेशमा जुम्ला र सुर्खेत उत्कृष्ट खेल प्रदर्शन गर्ने जिम्ला पर्छन् । प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुँदा सधैंजसो जुम्ला र सुर्खेतको फाइनलमा भेट हुन्छ ।

निरन्तर खेलिरहेको सुर्खेतसँग सोमबारे औँसीजस्तो कहिलेकाहीँ मात्रै खेल्ने जुम्ला हार्छ। निरन्तर खेल र निरन्तर प्रशिक्षण भएको खण्डमा जुम्ला एक नम्बर जिल्ला हुने चर्चित फुटबलर सुनिल थापामगर बताउँछन् ।

निकै कष्टसाध्य समय गुजारेर स्थापना भएको जुम्ला जिल्ला फुटबल संघ खेल संस्कृतिको विकास गर्न नियमित रुपमा गालिरहेको हमालले बताए । उनले भने, ’प्रतियोगिताको आयोजना गर्ने, प्रशिक्षणहरु गर्ने र प्रतिभावान खेलाडी उत्पादनमा केन्द्रित हुने अबको योजना हो ।’

रेफ्री तालिम हुँदै

लाइसेन्स प्राप्त रेफ्रि नहुँदा प्राय खेल विवादमा टुङ्गिने हुँदा फागुन १० देखि १४ गतेसम्म प्रदेश स्तरीय रेफ्री तालिम जुम्ला हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिम समेत आयोजना गरिएको संघका महासचिव हमालले जानकारी दिए ।

तालिमको लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल संघले सिफारिस गरि फागुन ६ गतेसम्म पत्र पठाई सक्नुपर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेशको फुटबल टिम बनाउन जुम्लामा छनोट प्रतियोगिता हुँदै

YUGAAWHAN NATIONAL DAILY (2080-10-16)