पहिला भूकम्पले जोगिए, अहिले पहिरोले लग्यो

१७ कार्तिक २०७९ को मध्यरात जाजरकोट र रुकुमपश्चिममा ठुलो बज्रपात प¥यो । जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु भएर गएको घातक कम्पनले दुई जिल्लामा सन्नाटा छाएको थियो । एक सय ५४ जनाको ज्यान लिने गरी गएको भूकम्पले जारकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय तथा भौतिक संरचनामा क्षति पुग्न गयो ।
हजारौ घरहरु बस्न नमिल्ने गरी भत्किएपछि नागरिकहरु घरबारविहिन बने । घातक कम्पनबाट जसोतसो बाँचेकाहरु अस्थायी टहरामा पुगे । घरमा बस्न नमिल्ने भएपछि त्रिपालको बासमा पुगेका पीडितहरुले जसोतसो अस्थायी आवास त निर्माण गरेका छन्, तर ढुक्कसँग रात रात काट्न सक्ने अवस्थाका घरहरु भने अझै बनेका छैनन् ।
भूकम्प गएको आठ महिनासम्म पनि पुनर्निर्माको काम सुरु नहुँदा जसोतसो पुष–माघको चिसो काटेका उनीहरु यसपालीको झरीको सामना गर्ने तयारीमा छन् । यिनै मध्येका एक हुन् रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१२, झिन्चौरका शेरबहादुर पुन ।
भूकम्पको त्यो कहाली लाग्दो अवस्था बिर्सन लागेका पुनको परिवारमा मंगलबार राती पुनः बज्रपात परेको छ । भूकम्पले घर भत्काइदिएपछि पुनले आफू र आफ्नो परिवारलाई घामपानीबाट जोगाउन अस्थायी आवास (टहरा) निर्माण गरेका थिए । तर, मंगलबार अकास्मात आएको बाढीले उनको परिवारको खुशी लुटेको छ ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले अस्थायी टहरामा सुतेका उनका दुई नातिनीसँगै तीन बालिकाको ज्यान लिएपछि पुनको परिवार मात्र होइन सिङ्गो गाउँ सोकमा डुबेको छ । भूकम्पपछि बनाईएको उक्त अस्थायी टहरामा सुतेका तीन बालिकालाई गिजागार र तातोपानी खोलामा आएको बाढीले ज्यान लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बाढीले शेरबहादुर पुनको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । सात जना घाइते भएका छन् ।
अस्थायी टहरामा सुतेका पुनका नातिनिहरु १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र सोही ठाउँकी अर्कि चार बर्षिया बालिका मनिषा सार्कीको मृत्यु भएको सूचना अधिकारी शाहीले बताए । बाढीमै परेर अर्को घरमा सुतेका डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।
उनको अवस्था अझैसम्म पनि अज्ञात रहेको आठविसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीले जानकारी दिइन । बाढीले थप तीन वटा घर र दुई वटा घुम्ती पसलहरू बगाएको छ । गिजागार खोलामा आएको बाढीले स्थानीय गमबहादुर खत्रीको जस्ता पाताले छाएको घर, घुम्ती पसल, धनजित सार्कीको घुम्ती पसल र आठविसकोट नगरपालिका–८ का दीपक परियारको कच्ची घर, शौचालय र अर्को एउटा टहरा पनि बगाइदिएको छ । उक्त बाढीका कारण यहाँका दर्जन बढी घर र अस्थायी टहरा बाढी र पहिरोको उच्च जोखिममा परेका छन् ।
एक अर्कालाई दोष लगाउनमै ठिक्क
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरु मौसमजन्य विपद्बाट त्रसित त छदैछन् त्यो भन्दा बढी सरकारी रबैयाका कारण असुरक्षित महशुस गरिरहेका छन् । भूकम्प गएको आठ महिना पुग्दासमेत यी जिल्लाका अधिकांश लाभग्राहीले अस्थायी आवास निर्माणवापत सरकारले उपलब्ध गराउने दोस्रो किस्ताको रकमसमेत पाउन सकेका छैनन् ।
भूकम्पपछिको पुनर्निर्माणको काम सरकारले हालसम्म पनि अगाडि बढाएको छैन । यति मात्रै होइन भवन निर्माण कार्यविधि संघीय सरकारले नबनाई दिदा आफै घर बनाउन चाहनेलाई समेत समस्या परिरहेको छ । भूकम्पबाट बढी क्षति व्यहोरेको जाजरकोटका सबै पालिकाहरुमा अस्थायी आवास निर्माणका लागि पहिलो र दोस्रो किस्ताको रकम निकासा भईसकेको भएपनि दोस्रो किस्ता वापतको रकम वितरणमा ढिलाइ भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउँछन् ।
प्रक्रिया पुगेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम वितरण गर्न पटक–पटक अनुरोध गरिएको भएपनि पालिकाहरुले विविध प्राविधिक कारण देखाउदा समस्या भएको प्रजिअ अधिकारीले सुनाए । प्रजिअ अधिकारीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी आवास निर्माणका लागि पालिकामा पठाएको रकम मध्ये न्यूनतम १२ लाख ५० हजारदेखि अधिकतम् ६ करोड रुपैयाँसम्म लाभग्राहीलाई वितरण हुन नसकी थन्किएको छ ।
‘मौज्दात रहेको रकमबाट दोस्रो किस्ता पाउन योग्य लाभग्राहीलाई वितरण गर्नुहोस् भनेर हामीले भनेका छौं,’ प्रजिअ अधिकारी भन्छन्, ‘यसरी वितरण गर्दा अपुग हुने रकम फेरी आउछ भनेर हामीले भनिरहेको अवस्था हो, तर उहाँहरुले दोस्रो किस्ताको रकम वितरण गर्न अझै सुरु गर्नु भएको छैन ।’
प्रजिअ अधिकारीलाई आधार मान्ने हो भने अस्थायी आवास निर्माणवापतको रकम वितरणमा स्थानीय तहले तदारुकता नदेखाएको बुझिन्छ । तर, स्थानीय तहका प्रमुखहरु भने दोस्रो किस्ता वापतको रकम पालिकामा नआएको दावि गरिरहेका छन् ।
भुकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरी अस्थायी आवास निर्माणवापतको दोस्रो किस्ताको रकम पालिकामा नआएको दावि गर्दै भन्छन्, ‘दोस्रो किस्ताको रकम वितरणको प्रक्रिया पुरा गर्न वडागतरुपमा विपद् पोर्टलमा इन्ट्री गर्नुपर्ने काम केही बाँकी छ, अर्को कुरा दोस्रो किस्ताका लागि रकम प्राप्त भएको पनि छैन, हिजो (सोमबार) को मन्त्रिपरिषद्को बैठकले दोस्रो र तेस्रो किस्ताका लागि रकम व्यवस्थापन गर्ने भनेर निर्णय गरेको छ, सो रकम आउने बित्तिकै हामी वितरणको काम सुरु गर्छौ ।’
प्रजिअ अधिकारी र अध्यक्ष गिरीका छुट्टाछुट्टै दाविले अन्तर सरकारी निकायमै समन्वय अभाव मात्रै होइन एकले अर्कोलाई दोषि देखाएर पन्छिने कार्य भइरहेको प्रष्ट बुझिन्छ । जसको मारमा नागरिक परिरहेका छन् । भौगोलिक अवस्था र भूकम्पले कमजोर बनेका जाजरकोट र रुकुम पश्चिम बाढी र पहिरोको उच्च जोखिमा रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
यहाँका अधिकांश बस्तीहरु भूकम्पले धुजा फाटेका स्थानमा बसिरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीमा यस वर्ष सरदर औषतभन्दा धेरै पानी पर्ने आँकलन गरेको छ । दुई महिना अघि सुरु भएको मनसुनले दुई जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोले क्षति पु¥याउन सुरु गरिसकेको छ । प्राविधिकरुपमा बस्न योग्न नभएका स्थानहरुबाट तत्काल बस्ती स्थानान्तरणको काम सुरु नगरिए भूकम्पको भन्दा ठुलो क्षति व्यहोर्नुपर्ने निश्चित प्राय जस्तै छ ।
दुई महिनामा आठ जनाको मृत्यु, १३ करोड बढीको क्षति
मनसुन सुरु भएयता पछिल्ला दुई महिनामा कर्णालीका विभिन्न जिल्लामा आठ जनाले ज्यान गुमाएका छन् । जेठ र असार महिना भर कर्णालीमा कुल एक सय ७२ वटा विपद्का घटना घटेको तथ्यांक कर्णाली प्रदेश प्रहरी कार्यालयसँग छ । प्रहरीले उपलब्ध गराएको जिल्लागत तथ्यांक अुनसार मौसमजन्य विपद्मा परी सुर्खेत र जाजरकोटमा दुई÷दुई, रुकुम पश्चिममा तीन, दैलेखमा एक जनाले ज्यान गुमाएका छन् ।
जसमा बाढीमा परी चार जनाको मृत्यु भएको छ भने, पहिरोमा एक र चट्याङमा परी एक जनाको मृत्यु भएको छ । यस्तै खोलाले बगाउदा एक र सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउछ । प्रदेश भर दुई दर्जन बढी मानिसहरु घाईते भएका छन् ।
त्यस्तै, ६९ वटा पशु चौपायाको मृत्यु हँदा १३ करोड ६४ लाख ५० हजार बराबरको धनमालमा क्षति पुगेको छ । यस वर्ष मनसुनजन्य विपद्मा कर्णालीका ११ हजार पाँच सय ४८ घरधुरीबाट ५० हजार चार सय ६४ जना प्रभावित हुन सक्ने आकलन मन्त्रालयले गरिएको छ । यही आँकडालाई आधार मानेर प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८१ तयार पारेको छ ।
यस वर्षको मनसुनबाट निम्तिन सक्ने सम्भावित विपद्पछिको प्रतिकार्यका लागि तीनवटै सुरक्षा निकायका दुई सय ४५ जना तालिम प्राप्त खोज उद्धार जनशक्ति तैनाथी अवस्थामा राखिएको छ । आवश्यक परेमा खोज उद्दारका लागि थप जनशक्ति परिचालनको प्रबन्ध तीनवटै सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने गरी संयन्त्र निर्माण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाय बताउँछन् ।
रोकायका अनुसार प्रदेशका १० वटै जिल्लामा हुन सक्ने सम्भावित विपद् व्यवस्थापनका लागि मानवरहित हवाई यन्त्रको प्रयोगसम्बन्धी तालिमप्राप्त १७ जना दक्ष जनशक्तिको सूची तयार गरी तयारी अवस्थामा राखिएको छ ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय तथा पालिका मातहत रहेका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ ।
प्रादेशिक मानवीय सहायतास्थल सुर्खेत र जुम्ला केन्द्र तथा गोदाम घरहरूमा बन्दोबस्तीका सामग्रीको प्रबन्ध गरिएको प्रदेश सरकारले जनाएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा प्रभावकारी समन्वय र सहकार्य गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा अन्य मन्त्रालय, तीनवटै सुरक्षा निकाय, जल तथा मौसम विज्ञान कार्यालय, सडक डिभिजन कार्यालयसमेत रहने गरी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रमा मनसुन अवधिभरका लागि मनसुन प्रतिकार्य कमान्ड टोली खटाउने प्रबन्ध प्रदेश सरकारले मिलाएको छ ।
बाढीले तीन जनाको मृत्यु, ४२ परिवार विस्थापित
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा सोमबार राती आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् ।
आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए । उनले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका बताए ।
आठविसकोट नगरपालिकाका ४२ घर परिवार विस्थापित भएका छन् । बाढीको कारण यहाँका ४२ परिवार विस्थापित भएका हुन् । स्थानीय गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका २२ घरपरिवार र वडा नम्बर ११ को सिमबजारका २० घरपरिवार विस्थापित भएका हुन् । झिन्चौर र सिमबजार करिब ६० घर बाढी पहिरोको उच्च जोखिममा छन् ।
झिन्चौरका विस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । सिमबजारका विस्थापितहरू राडी बजार र गोईरीमा बसेका छन् । उनीहरूको आफन्तको घरमा सरेको बताइएको छ ।
त्यसैबिच नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर बाढी पीडितहरूलाई राहत उपलब्ध गराएको छ । रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामग्रीहरू उपलब्ध गराइएको हो । ९२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामाग्रीहरू बाढी पीडित परिवारलाई उपलब्ध गराइएको सभापति गौतमले जानकारी दिए ।
बाढी प्रभावित परिवारलाई राहत वितरणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको छ । बाढीले घर क्षति गरेपछि घरभित्रका सामग्रीहरूको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयंमसेवकहरु परिचालन गरिएको छ ।





