कर्णालीको रैथानेबाली प्रर्बद्धन गर्न: जुम्लामा पहिलोपटक कृषि कचहरी


जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी संचालन गरिएको छ । कृषिका क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा छलफल गर्न कृषि कचहरी संचालन गरिएको हो । कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान केन्द्र (किर्डाक नेपाल)को आयोजना र वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कृषि कचहरी भएको हो ।
कचहरीमा ११ वटा महत्वपूर्ण प्रतिवद्धता गरिएको छ । स्थानीय सरकारले आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमा जलवायुमैत्री कृषि प्रविधि प्रवद्र्धन गर्ने र कम्तिमा एक जलवायुमैत्री कुषि गाउँ निर्माण गरिनेछ ।
यस्तै, जलवायुमैत्री कृषि उत्थानशिलतामा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्दै जलवायुमैत्री प्रविधि अपनाउने, निजि तथा सहकारी क्षेत्रले जलवायुमैत्री खाद्य प्रणाली र मुल्य श्रृखंला प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने, प्रत्येक स्थानीय तहमा जलवायुमैत्री कृषि प्रवद्र्धन केन्द्र स्थापना गर्ने, जलवायुमैत्री कृषि वातावरणका लागि आवश्यक नीति तथा संरचना व्यवस्थापन गर्ने कृषि कचहरीमा प्रतिवद्धता गरिएको छ ।
यसैगरी, उत्पादित कृषिवस्तु बजारीकरणका लागि स्थानीय तह, निजिक्षेत्र, गैसस र कृषक समूहको संयुक्त समन्वय तथा साझेदारीमा स्थानीय हाट बजार केन्द्र, चिस्यान केन्द्र र संकलन केन्द्र मार्फत बजारीकरण सुनिश्चित गर्ने, रैथाने बाली प्रवद्र्धन तथा अर्गानिक कृषि उपजको गुणस्तर तथा प्रमाणिकरण गरी बजारको सुनिश्चित गर्ने, मौसम पूर्वनुमान प्रणाली स्थापना गर्ने, स्थानीय तहले कृषि बीमा नीति निर्माण गरी कार्यान्वयन गर्ने र तिनै तहका सरकार तथा सरोकारवाला निकायले कृषि अनुसन्धान कार्यमा जोड दिदै नीति तथा कार्यक्रममा समावेश गर्ने कृषि कचहरी कार्यक्रममा प्रतिवद्धता भएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताए ।
कृषि मन्त्रालयका सहसचिव डा. अरुण प्रकाश भट्ट, प्रदेश कृषि तथा सहकारी मन्त्रालयका अधिकृत पदम केसी, कृषि विज्ञ डा. इश्वरी कडरिया, वल्डभिजन इन्टरनेशनल नेपालका निर्देशक प्रकाश तिवारी र कृषि अनुसन्धान केन्द्र जुम्लाका अधिकृत प्रतिक्षा श्रेष्ठसँग कृषि क्षेत्रका नीतिगत विषयमा छलफल गरिएको थियोे ।
छलफलबाट जलवायु मैत्री कृषि र जलवायु परिवर्तनलाई मुख्य योजना बनाइनु पर्ने र अर्गानिक प्रदेश भएको हिसाबले पर्यटक भित्र्याउने गरि नीति बनाउनु पर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । छलफलमा अगुवा किसान रामकृष्ण बुढथापा, युवा उद्यमी महेन्द्र कार्की, महिला उद्यमी नाराणयी चौलागाई, उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाको पनि सहभागीता थियो।
किसानले उत्पादन गरेका कृषिवस्तुको बजारीकरण, कृषि क्षेत्रमा किसानहरुले भोग्नु परेका समस्या र जंगफुटको प्रयोगले बालबालिकाको स्वास्थ्या पारेको प्रभावका विषयमा ध्यानाकर्षण गरेको थियो।कृषि कचहरीमा संघीय सांसद ज्ञानवहादुर शाही (ज्ञानेन्द्रले) जुम्लामा उत्पादन हुने बालीको प्रवद्र्धनका लागि कृषि विधेक संसदमा पेश गर्ने दाबी गरे ।
जुम्लामा परम्परागत रुपमा उत्पादन हुँदै आएको आलुको बिउलाई परिमार्जन गर्नको लागि कृषि विज्ञसँग छलफल भइरहेको जनाए । किर्डाक नेपालका निर्देशक गोविन्द वहादुर शाहीले खस भाषाबाट लिइएको कचहरी शब्दले इतिहासमा मुद्दा छिन्ने जस्तो देखिए पनि वर्तमान समयमा परिवर्तनका लागि संवाद भन्ने भाष्य निर्माण गर्नका निम्ति कचहरी गरिएको बताए ।






