कर्णालीमा हिमपात हुँदा किसान उत्साहित


कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीवार रातिदेखि नै हिमपात भइरहेको छ ।
लामो समयसम्म हिउँ नपरेपछि चिन्तित बनेका कर्णालीका किसान हिमपातसंगै उत्साहित भएका छन् । पुषमै हिउँको प्रतिक्षा गरिरहेका किसान ढिलै भएपनि हिउँ पर्दा हर्षित भएका हुन् । हिउँ नपरेसम्म कर्णालीको हिउँदेबाली उत्पादनमा गिरावट आउँनुका साथै स्याउ बगैंचा व्यवस्थापनमा समेत समस्या हुन्छ । त्यसलै पनि कर्णालीका किसान हिउँदमा हिउँको प्रतिक्षा गर्छन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले अहिले भएको हिमपातले कृषिक्षेत्रमा विशेष राहत पुराउने बताए । उनले भने, ‘यस वर्ष ढिला हिमपात भयो । त्यो पनि अपेक्षानुसार हिउँ परेन । थोरै भएपनि बालीनालीलाई सघाउ पुग्छ । स्याउ बगैंचा व्यवस्थापनमा पनि राहत हुन्छ ।’
स्याउका बोटहरुमा खाडल बनाई हिउँ संकलन गर्न समेत प्रमुख देवकोटाको किसानलाई अनुरोध छ । यस वर्ष हिउँ नपरेर हिउँदेबाली खेतमै सुक्ने चिन्ताले पिरोलि रहेको बेला थोरै भएपनि हिमपात भएर राहत मिलेको किसान चन्द्रविर चनाराले बताए । हिउँदको कर्णालीको कृषि र जनजीवनसंग जोडिएको छ । उनले भने, ‘हिउँ नपरी हिउँदे जौ बाली सप्रिन्न । पुस माघमा हिउँ नपरेसम्म तातो रिट्दैन भन्ने विश्वास छ । त्यसैले कर्णालीमा हिउँको आफ्नै महत्व छ ।’
गतसाल पुषमै हिमपात भए तातो रित्तिसकेको थियो । बालीनाली सप्रिएको थियो । किसान कालो कामी भन्छन्, ‘पुस माघमा हिउँ परेन भने स्याउ बगैंचा व्यवस्थाप गर्न मिल्दैन । जसले उत्पादन घट्छ । हिउँ परेपछि नयाँ बिरुवा रोप्ने चटारो पनि सुरु हुन्छ । विगतको तुलनामा निकै हिउँ कम आउन थाल्यो ।’
हिमपातले जुम्ला, हुम्ला, डोल्पा र मुगुको हवाई उडान पनि अवरुद्ध भएको छ । चिसोले कर्णालीको जनजीवन समेत प्रभावित भएको छ । जेष्ठनागरिक, बालबालिका, सुत्केरी महिला प्रभावित छन् । उता मुगुको रारा तालमा पनि करिब २ ईन्च हिउँ परेको छ । हिमपातपछि रारा तालमा हिउँ खेल्ने पर्यटकहरुको भिड समेत लाग्छ ।






