कर्णाली एक्स्पो–२०८० ठेक्का प्रकरणमा प्रशासनको चासो

उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको तेस्रो कर्णाली एक्स्पो–२०८० को व्यवस्थापन ठेक्का विवादित बनेको छ । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०७९ विपरित कुनै पनि पत्रपत्रिकामा सार्वजनिक सूचना ननिकालि, म्याद थप सकिएकै दिन सूचना बाेर्डमा टाँस गरी इमेलबाट मागिएको प्रस्तावना पत्र विवादित बनेको हो ।

मेला सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी दोस्रो पक्षलाई दिई व्यवस्थापकिय कार्यबाट टाढा रहने र एकमुष्ट रकम आम्दानी गर्ने मनसायले संघले प्रस्ताव आव्हान गरेको थियो । प्रचलित खरिद ऐन, नियम, कानून विपरित व्यवस्थापकिय ठेक्का लगाउन खोजिएपछि विवाद उत्पन्न भएको हो ।

मेलाको ठेक्का सन्दर्भमा युगआव्हान दैनिकसहित विभिन्न सञ्चार माध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो सक्रियता देखाएको छ । ठेक्काको विषयमा सत्यतथ्य छानविन गरी कानून सम्मत नभएको भए कानून सम्मत गरी गराई कार्यालयलाई जानकारी दिनु भनिएको छ । मिति २०८० माघ ४ गते चलानी नं. ३९९९ को एक पत्र लेख्दै सुर्खेत उधोग वाणिज्य संघलाई सचेत गराइएको हो ।

मेला सञ्चालन तथा व्यवस्थापनको ठेक्कामा सबैभन्दा बढी रकम कबोल गरेको ए.जी. सर्भिस प्रा.लि. नेपालगंज बाँकेले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन दर्ता गरेकोछ । निवेदनको विषयमा सत्यतथ्य छानविन गरी यथार्थ विवरण जानकरी गराउन आदेश गरिएको छ ।

संघले पुस २० गते महोत्सव व्यवस्थापन तथा सञ्चालनका लागि आशयपत्र माग ग¥यो । आशयपत्र माग गरेको सूचना भने आधिकारिक रूपमा प्रकाशन गरिएन । सार्वजनिक खरिद ऐन, नियमावलीका प्राव्धान विपरित सूचना निकालेको प्रक्रिया पुराउन गुपचुपमै सूचनाको म्याद सकिने अन्तिम दिन सूचना टाँस गरी ठेक्कामा ठुलो चलखेल गरिएको थियो ।

मेला, महोत्सव आयोजना गर्दा ठेक्का आह्वान गर्नुपूर्व नगरपालिकाबाट स्वीकृति लिनुपर्ने थियो । तर पुस २२ गतेमात्र नगरपालिकामा महोत्सवको मूल आयोजक छनौंटका लागि छलफल भयो । चालु आर्थिक बर्षको कर्णाली एक्स्पो–२०८० सञ्चालनका लागि मूल आयोजक बनेको सुर्खेत उद्योग वाणिज्य संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्राव्धानलाई लत्याउँदै प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको खुल्यो ।

सेवा तथा सामाग्री खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली संशोधनसहित २०७९ ले १० लाखभन्दा बढीको सेवा खरिद तथा २० लाखभन्दा बढीको निर्माण तथा सामाग्री खरिदमा राष्ट्रिय स्तरको पत्रिकामा ३० दिने बोलपत्रको सूचना प्रकाशित गरी खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ । यी कुनै पनि विधि र प्रक्रिया नगरी गोप्य रुपमा एकै पटक छनौंट गरिएको कम्पनीको आशय स्वीकृतिको सूचना प्रकाशित गरिएको थियो ।

इमेल र प्रत्येक्ष गरी ६ वटा आशयपत्र संघलाई प्राप्त भएको देखियो । जसमध्ये सबैभन्दा कम रकम कबोल गरिएको आशय पत्र ५० लाख थियो भने बढी कबोल गरिएको ८१ लाख ५० हजार ५५५ रुपैयाँको थियो । मूल आयोजक संघले भने ६१ लाख रुपैयाँ कबोल गरिएको आशय पत्रलाई छनोट गर्यो ।

हेटौँडाको कम्पनी ओम शक्ति मूर्ति इभेन्ट एन्ड म्यानेजमेन्टले ६० लाख ६ हजार ६ सय ६६ रुपैयाँ ६६ पैसा कबोल गरेर आशयपत्र पेस गरेको थियो । उक्त कम्पनी र मूल आयोजक सुर्खेत उद्योग वाणिज्य संघबीच ठेक्का आह्वान गर्नुअघि नै छनौंटको लागि चलखेल भइसेकेको देखियो ।

आशयपत्र आह्वान गरेपछि बाँकेको एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५ सय ५५ रुपैयाँ कबोल गरेर आशयपत्र दिएको थियो । उक्त कम्पनीलाई भने छनौंट गरिएन ।

याे पनि पढ्नुहाेस :-

सम्पादकीय : सुर्खेत उद्योग वाणिज्य संघले कानून मान्नु पर्दैन ?

कर्णाली एक्स्पो–२०८० को व्यवस्थापन ठेक्कामा चलखेल

तपाईको प्रतिक्रिया