१६ करोडको जाल्पादेवी जलविद्युत आयोजना सञ्चालन
तातोपानी गाउँपालिका–२ निवासी गोविन्द दमाईका करिब चार दशक अँध्यारोमै बिते । दाउराको झरोको सहारामा चार दशक बिताएका गोविन्दले केही वर्षयता सौर्य ऊर्जा प्रयोग गरे पनि उनको उज्यालो घर बनाउने धोको पूरा भएन । कमाउन भारत गइरहने उनले त्यहाँका गाउँबस्ती समेत झिलिमिली भएको, विद्युतीय विकासले फड्को मारेको देख्दा हाम्रो गाउँका पनि यस्तै भइदिए हुन्थ्यो भन्ने सोच्थे ।
जलविद्युत उत्पादनको सम्भावना र स्रोत प्रचुर भए पनि विद्युत उत्पादनमा लगानी अभावले विलम्ब हुँदै गएको थियो ।
जुम्लामा स्थानीय जलविद्युत उत्पादन कम हुनु राष्ट्रिय प्रसारणलाइन पुगे पनि भरपर्दो नहुनुले गोविन्द दमाईको मात्र नभई जुम्लाका हजारौं नागरिकका घर उज्यालो बनाउने सपना अधुरै छन् । तर जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित जाल्पादेवी जलविद्युत आयोजना निर्माण भई यस वर्षबाट सञ्चालनमा आएपछि गोविन्दसँगै तातोपानीका सयौं नागरिकका घर उज्यालिएका छन् ।
घर उज्यालो बनाउने वर्षौदेखिको धोको पूरा भयो । अध्याँरोमै बस्नु पर्ने बाध्यताको अन्त्य पनि भयो । स्थानीय गोविन्दले भने, ‘जाल्पादेवीको बत्ती घरघर पुगेको छ । विद्युत पुगेपछि विकासको अनुभूति पनि भयो । बत्ती अभावले अँध्यारो भएको घरको कोठाजस्तै मन पनि उज्यालिएको छ । मन उत्साहित भएको छ । झरो बाल्ने बाध्यता हट्यो । बत्तीबाट हुने सबै काम पनि हुने भए । निकै खुसी छु । बत्तीको निरन्तरता र व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।’
तातोपानीका वडा नं १,२,३,४,५, र ६ गरी चारवटा वडाका १८ सय बढी घरधुरी लाभान्वित हुने गरी विद्युत उत्पादन गर्ने डिजाइन गरिएको जाल्पादेवी जलविद्युत उत्पादन समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । उनले भने, ‘बत्तीको निरन्तरता र व्यवस्थापनमा जुटेका छांै । जनशक्ति अभावले व्यवस्थापकीय हिसाबमा चुनौती देखिएको छ । यद्यपि, आमनागरिकको राहत र सुविधाका लागि दिनरात नभनी विद्युत प्रवाहको काम गरिरहेका छौं ।’
तातोपानीका चार वटा वडाका एक हजार ८४० घरधुरीका लागि डिजाइन गरिएको थियो । त्यसमध्य हालसम्म एक हजार तीन सय घरधुरीमा विद्युत विस्तार गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार जलविद्युत उत्पादनको डिजाइन दुई सय किलोवाटको गरिए पनि मेसिन र स्रोतका कारण डिजाइन गरिएको भन्दा ३० किलोवाट बढीले विद्युत उत्पादन भएको अध्यक्ष पाण्डेको भनाइ छ । १३ सय घरधुरीमा बत्ती विस्तार भएको र बाँकी रहेका घरमा बत्ती विस्तारको काम जारी रहेको जनाइएको छ ।
हाल साँझ ५ देखि बिहान ८ बजेसम्म विद्युत प्रवाह भइरहे पनि २४ सै घण्टा विद्युत प्रवाह गर्ने तयारी भइरहेको छ । हाल तीनजना जनशक्ति विद्युतको व्यवस्थापनका लागि खटिएका छन् । जाल्पादेवि जलविद्युत आयोजना कुल १५ करोड ७६ लाख लगानीमा निर्माण भएको हो । जसमा तत्कालीन सिँचाइ डिभिजन कार्यालयले चार करोड ५६ लाख, एडिबीको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पाँच करोड ७० लाख अनुदान प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
त्यस्तै तातोपानी १ देखि ६ नम्बर वडाका स्थानीयले एक करोड ५० लाख बराबरको सेयर रकम जम्मा गरेका छन् भने आयोजना निर्माणका लागि १२ करोडको टेण्डर आह्वान गरिएकोमा १० करोडमा ठेक्का सम्झौता भएको हो । तर विद्युत विस्तारको काम बाँकी हुँदै एक करोड ७० लाख फ्रिज भएपछि काम गर्न मुस्किल भएको अध्यक्ष पाण्डेले उल्लेख गरे । उनले भने, ‘यो आयोजनामार्फत् तातोपानीलाई उज्यालो पालिका बनाउने संकल्पका साथ लागिपरेका छौं । तर डेढ करोड बढी फ्रिज भयो । थुप्रै काम प्रभावित भएका छन् । अहिले आयोजना एक करोड ६३ लाख ४० हजार ऋणमा छ । अझै विद्युत विस्तारको काम बाँकी नै छ । कसरी गर्ने ?’
तातोपानी–२ का वडाध्यक्ष चन्द्रमान बुढा भन्छन्, ‘झरो बाल्ने टुक्की बाल्ने तर दशक पहिलाको समस्या हो । १÷२ वर्ष पहिलासम्म पनि मोबाइल चार्ज लगाउने ठाउँ हुन्थेन । हातमा स्मार्ट फोन भए पनि कामविहीन हुन्थ्यो । बादल लाग्यो अँध्यारोमै बस्नु पर्ने बाध्यता हुन्थ्यो । तर अहिले जाल्पादेवीको बत्ती घरघरमा पुगेपछि स्थानीय खुसी छन् ।’(कारोबार)





