भेरी किनारमा ‘नमुना सहर’

सुर्खेत,१२ फागुन ।

सुर्खेतको पूर्वी क्षेत्रमा नमुना आधुनिक सहर निर्माणको योजनाले गति लिन थालेको छ। सरकारले आर्थिक वर्ष २०७३÷७४ मा सुर्खेतको भेरी किनारमा नमुना आधुनिक सहर निर्माणको घोषणा गरेको थियो। भेरी किनारका तीनवटा पालिकाहरू भेरीगंगा, गुर्भाकोट र लेकवेसीमा पर्ने भेरी नदीको वारी र पारीको चारसय ६० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नमुना सहर बनाउने लक्ष्य छ।

गुर्भाकोट नगरपालिकाको मेहलकुनामा नमूना आधुनिक सहर योजनाको फिल्ड कार्यालय स्थापना गरेर काम सुरु गरेको छ। सोमबार मात्र शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोलीले भेरीगंगा उपत्यकाको निरीक्षण गर्नुका साथै सरोकारवालासँग नयाँ सहरका बारेमा छलफल गरेको छ।

सहरी विकास मन्त्रालयका सचिव आचार्यले भौगोलिक हिसावले उत्कृष्ट र जोखिम कम भएकाले नयाँ शहर पश्चिम नेपालकै नमुना शहर बन्ने बताए। उनले अब यो शहर निर्माणको कामलाई तिव्रता दिइने बताए। नमुना सहरअन्तर्गत गुर्भाकोट नगरपालिकाको खटाङमा तीनमुखे झोलुङ्गे पुल निर्माण हुँदैछ।

चालू आर्थिक वर्षदेखि निर्माण सुरु हुने पुलकोबीच भागमा भ्यूटावर बन्नेछ। कांग्रेस उपसभापतिसमेत रहेका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्काले २० वर्षभित्र व्यवस्थित र आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई नासोको रुपमा सुम्पने बताए।

नमूना सहर निर्माणका लागि समय थोरै भएको भन्दै उनले तीव्र गतिमा काम गर्न आयोजनालाई निर्देशन पनि दिए। नमुना सहर कर्णाली प्रदेशको प्रवेशद्वारमै पर्छ भने नयाँ सहरलाई रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डले छोएका छन्।

भेरीगंगा उपत्यकालाई सुर्खेतसहित जाजरकोट, सल्यान, डोल्पा, रुकुमलगायतको मुख्य केन्द्रका रूपमा विकास गरिने गुरुयोजनामा उल्लेख छ। संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अम्मर थापाले नमुना सहर निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको बताए।

कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख छ। बस्ती विकाससँगै सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्क, पार्कहरूका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी भइरहेको छ।

नमुना सहरभित्रै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा छ। भेरीगंगाको मदानेचौरमा विमानस्थल निर्माणका लागि ४ सय ३२ हेक्टर जमिन मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भोकाधिकारको अधिकार दिइसकेको छ।

मेहलकुनामा ५० बेडको अस्पताल निर्माण भइरहेको छ भने भेरीगंगाको खेल्नेचौरमा ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको थालनी भइसकेको छ। नमूना सहरलाई मूर्तरूप दिनकै लागि भेडाबारीदेखि रामघाटसम्म करिब १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल निर्माण हुँदैछन्।​​​​​​

अन्नपुर्ण

भेरी किनारमा ‘नमुना सहर’

कछुवा गतिमा बजेट खर्च

भेरी किनारमा ‘नमुना सहर’

राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds