कछुवा गतिमा बजेट खर्च

पुनम वि.सी.
सुर्खेत, १२  फागुन ।

चालू आर्थिक वर्ष २०७९÷०८० अहिले आठौं महिनाको मध्यान्हमा प्रवेश गर्दैछ । यसबीच कर्णाली प्रदेश सरकारले आफ्नो बजेट खर्चका विषयमा आर्थिक वर्षको आधा भन्दा बढी समय व्यतित गरिसकेको छ । तर कर्णाली प्रदेश सरकारको बजेट खर्च भने निरासाजनक अवस्थामा छ ।

माघ मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले पूँजिगततर्फ १२ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्ष समाप्तिका लागि करिव साढे चार महिना मात्र बाँकी रहँदा दुई तिहाई भन्दा धेरै बजेट खर्च बाँकी नै छ ।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्व ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो मध्य पूँजिगत तर्फ १९ अर्व ४५ करोड नौं लाख २४ हजार रुपैयाँ बजेट छ । माघ महिनाको मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले पूँजिगत तर्फ दुई अर्ब ३९ करोड ६९ लाख ९४ हजार तीन सय चार रुपैयाँ बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले गत असोज १० गतेसम्ममा पूँजिगत तर्फ २ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो । कार्तिकमा पाँच दशमलव ३३, मंसिरमा ६ दशमलव ७५ र पुष मसान्तमा नौं दशमलव शूूज्य आठ प्रतिशत प्रजिगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा मात्र होइन कर्णाली प्रदेश सरकारको बजेट खर्च अवस्था यस अघिका वर्षहरुमा समेत उस्तै थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेश सरकारले माघ मसान्तसम्ममा पूँजिगततर्फ कुल आठ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा २०७९ को माघ मसान्तसम्ममा प्रतिशतका आधारमा केहि धेरै बजेट खर्च भएको देखिएतापनि समावधिको रुपमा आधा वर्ष बित्दा समेत २०७९, माघसम्ममा १२ प्रतिशत मात्र बजेट खर्च हुनु ज्यादै न्यून भने देखिन्छ ।
२०७८÷०७९ मा पूँजिगततर्फ कुल ६० प्रतिशत हाराहारीमा मात्र बजेट खर्च भएको थियो ।

२०७८ कार्तिकमा दुई दशमलव ९६ प्रतिशत रहेको पूँजिगत खर्च, मंसिरमा चार दशमलव ७३, पुषमा ६ दशमलव शून्य आठ प्रतिशतमा थियो । अघिल्लो आर्थिक वर्षमा पूँजिगत तर्फको बजेट खर्च तथ्यांक हेर्दा असार महिनाको १५ दिनको समावधिमा ३० प्रतिशत धेरै बजेट खर्च भएको देखिन्छ ।

२०७८÷०७९ को फाल्गुनमा १२ दशमलव १६, चैत्रमा १७ दशमलव ९४, वैशाखमा २१ दशमलव २१ र जेठमा भने २४ दशमलव ८१ प्रतिशत पूँजिगत खर्च भएको थियो । ०७९ असार १५ गतेसम्म आईपुग्दा भने बजेट खर्च ३० दशमलव शून्य सात प्रतिशत थियो । यस विच २६, असारमा ११ दिनको समावधिमा पूँजिगत खर्च बढेर ६० दशमलव शून्य तीन प्रतिशत पुगेको देखिन्छ ।

योजना आयोगको पूँजिगत खर्च २४ हजार

चालू आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेश योजना आयोगका लागि प्रदेश सरकारले तीन करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ६ लाख ९५ हजार रुपैयाँ पूँजिगततर्फ बजेट विनियोजन छ । कुल पूँजिगतत खर्च तर्फ योजना आयोगले २४ हजार तीन सय ७३ रुपैयाँ बजेट खर्च गरेको छ ।

यो खर्च आयोगको कुल पूँजिगत बजेटको तीन दशमलव ५१ प्रतिशत हो । यता चालूतर्फ तीन करोड ५७ लाख ७० हजार बजेट मध्य आयोगले माघ मसान्तसम्ममा ५३ लाख ५६ हजार ६ सय ९१ रुपैयाँ खर्च गरेको छ ।

कर्णाली प्रदेशका मन्त्रालयगत रुपमा हेर्दा यहाँको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूँजिगततर्फ चार दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० दशमलव ४९, आन्तरिक मामिला तथा कानून मन्त्रालयले १३ दशमलव शून्य ६, सामाजिक विकास मन्त्रालयले २८ दशमलव २९ प्रतिशत पूँजिगत बजेट खर्च गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार दशमलव ५७ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन दशमलव २४ प्रतिशत र भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयले २३ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसअघिको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा भएको पूँजिगत बजेट खर्च एकमुष्ट रुपमा भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयमा जोडिएको हो ।

कछुवा गतिमा बजेट खर्च

सामुदायिक विद्यालय राजनीतिक थलो बन्दै

कछुवा गतिमा बजेट खर्च

भेरी किनारमा ‘नमुना सहर’

Leave a comment

Your email address will not be published. Required fields are marked *