सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर पाँच हजार पाँच सय


हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ । यसअघि ६ हजार पाँच सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य पाँच हजार पाँच सय रुपैयाँमा झरेको हो ।
व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि प्रतिस्पर्धा बढेसँगै मूल्य पनि घटेको हो ।
यस्तै, पुरानो सिलिण्डर साटेर ग्यास भर्न भने चार हजार पाँच सय रुपैयाँ लाग्छ । यसअघि उक्त मूल्य पाँच हजार पाँच सय रुपैयाँ थियो । ग्यासको यो मूल्य सदरमुकाम सिमकोटको हो ।
राष्ट्रिय सडक सञ्जाल जोडिएको सर्केगार्ड गाउँपालिकाको सरीसल्लामा भने नयाँ सिलिण्डर पाँच हजार पाँच सय रुपैयाँ पर्छ भने पुरानो सिलिण्डर भरेको दुई हजार पाँच सय रुपैयाँ पर्छ । सरीसल्लाभन्दा माथि भने पैदल दूरी हेरेर मूल्य निर्धारण गरिएको छ ।
पहिलो पटक हुम्लामा ग्यास भित्रिँदा प्रतिसिलिण्डर चौध हजार रुपैयाँसम्म मूल्य थियो ।






