भूकम्प पीडितको व्यथाः ‘जन्मघर’ फर्किने मन छैन

विक्रम तामाङ्ग पेशाले सवारी चालक हुन् । उनले जाजरकोटका सडकमा ट्याक्टर चलाउँथे ।
जाजरकोटको नलगाड नगरपालिका–७ वसोवास गरेका विक्रम चामाखेत गाउँमा बस्न थालेको १२ वर्ष पुग्यो । यसअघि रोजगारीको सिलसिलामा जाजरकोट आएका उनी यतै घरजम गरेर बसेका थिए ।
अहिले विक्रमको साथमा आठ वर्षिय छोरा मात्र छन् । विक्रमले भूकम्पमा २६ वर्षिय श्रीमती बिन्दु र नौं वर्षिय छोरी बिपनालाई गुमाए ।
‘छिमेकीले खानेकुरा दिनुहुन्छ । त्यही खाएर बाँचिएको छ’, अस्थायी आवास बनाउँदै गर्दा भेटिएका बिक्रमले भने, ‘पहिला यो छोरोको लागि बस्ने ठाउँ बनाउँछु । त्यसपछि मात्र काममा जानुपर्ला ।’
विक्रमले अहिले काठ र जस्तापाताको प्रयोगले अस्थायी आवास निर्माण गरिरहेका छन् । ‘भोलीसम्ममा बन्छ होला । चिसोको बेला छोरालाई कति त्रिपालमा मात्रै राख्ने ?’
विक्रमले हाल निर्माण गरिरहेको अस्थायी आवासको जग्गा भने उनको होइन, उनका साँहुको हो । ‘भूकम्प अघि हामी भाडामा बस्दै आएका थियौँ । हामी बसेको घर पनि भत्कियो । अव बस्ने ठाउँ भएन । अनि साँहुले आफ्नै जग्गामा यो घर बनाउन दिनुभएको हो’, विक्रमले चलाउने गरेको ट्याक्टर धनीको जग्गामा उनले अस्थायी कटेरो हाल्ने स्थान पाएका हुन् ।
विक्रमकी श्रीमतीको माईती घर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, चौरमा पर्छ । विक्रमका ससुरा छैनन्, उनकी सासु पनि मनोसामाजिक अपाङ्गता भएकी व्यक्ति हुन् ।
‘मेरा ससुरा हुनुहुन्न । सासु पनि धेरै थाह पाउनुहुन्न । अव छोरा र म मात्रै जाजरकोटमा छौं । अव धादिङ्ग पनि फर्किन सकिदैन । जहाँ जान्छु यो छोराका लागि मात्र काम गर्ने हो’, उनले दुःखेसो पोखे ।
विक्रमका आठ वर्षिय छोरा स्थानीय विद्यालयमा कक्षा एकमा अध्ययनरत छन् । भूकम्प अघि दिदिसँगै विद्यालय जाने गरेका उनी अहिले विद्यालय जान समेत मान्दैनन् ।
भूकम्प यता विक्रमले पनि ट्याक्टर चलाएका छैनन् । ‘परिवारकै लागि भनेर काम गरिन्थ्यो । अव छोरा बाहेक अरु परिवार नै रहेनन् । पहिला यो घर बनोस् अनि ५–६ महिनापछि मात्रै काममा फर्किनुपर्ला । छोरोलाई पनि स्कुल पठाउनु छ’, उनले भने ।
‘श्रीमतीको बाँकी सपना पुरा गर्छु’
वर्षौदेखि भाडाको घरमा बस्दै आएको तामाङ्ग परिवारको एउटै सपना थियो, आफ्नै जग्गामा घर बनाउने ।
यसअघि जन्मघर धादिङ्ग फर्किने योजना रहेपनि अव भने विक्रमले त्यो योजना फेरेका छन् ।

‘श्रीमतीले नलगाडमै बस्ने भन्थिन् । अव यही बसेर उनको सपना पुरा गर्ने हो । छोरालाई आफ्नै जग्गामा घर बनाएर हुर्काउने मन छ’ उनले भने, ‘सकेसम्म काम गरेरै उनको सपना चाडै पुरा गर्नेछु । जे सपना थियो पुरा नहुदै उनी गईन् ।’ ‘हाम्रै परिवारको लागि भूकम्प आएको रहेछ । अब जन्मघर जान्न । आफु जता जान्छु छोरालाई उतै लिन्छु’, उनले भने । विक्रमको परिवारले राहत सामाग्री समेत पाएको छ । त्यसैगरी संघीय सरकारले भूकम्पका कारण मृत्यु भएका नागरिकको परिवारलाई दिएको राहत रकम पनि उनले पाएको जानकारी दिए ।
छिमेकीको घरमा परिवार गुम्यो
गत कार्तिक १७ गते विक्रमको परिवारका लागि पनि कालो दिन थियो । जागिरको खोजी गर्दै जाजरकोटमा अडिएका विक्रमको परिवार भाडाको घरमा बस्थे ।
ढुंगा र माटोले बनेको सानो कच्ची घरमा दुई कोठा थियो । चार जनाको उनीहरुको परिवार त्यही दुई कोठामा अटेको थियो ।
कार्तिक १७ गते, शुक्रवार साँझ विक्रम र उनकी श्रीमतीवीच सानो मनमुटाव पनि भयो । विक्रमका लागि श्रीमती र छोरीसँगको अन्तिम भेट त्यही नै रह्यो ।
‘त्यो दिन घरमा हल्का भनाभन भएको थियो । उनी छोरीलाई लिएर छिमेकी साथीको घरमा गईन्’, उनी भक्कानिए ।
छिमेकीको घरमा विक्रमकी श्रीमती सहित पाँच जनालाई भूकम्पले लियो । विक्रमका श्रीमती र छोरी सहित छिमेकी घरका विष्णु परियार, सविता विक र गणेश विकले भूकम्पका कारण ज्यान गुमाए ।
सो दिन मामाघर पुगेका विक्रम र उनको छोराको भने ज्यान बाच्यो ।





