चट्टान फोडेर सडक निकाल्दै छत्रेश्वरी गाउँपालिका


ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटरबाटो निर्माण थालेपछी स्थानियहरुमा उत्साहित भएका छन् । यो सल्यान छत्रेश्वरी गाउँपालिकाको खबर हो । बर्षौं देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानियहरु कडा चट्टान फोड्दै गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछी आफ्नो गाउँलाई सडक संजालले जोड्ने अपेक्षामा छन् ।
निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै पालिकाको स्काभेटर मार्फत निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक निर्माण भएपछी करिव १५ घरधुरिलाइ विशेष लाभ पुग्ने अकासी गाउँ बस्ने खिमे कामीले बताए । ‘गाउँमा तरकारि, जडिबुटी, फलफुल उत्पादन हुन्छ, त्यसलाई बजार सम्म पुर्याउन निकै समस्या भइरहेको छ’, उनले भने, ‘अव बाटो बन्यो भने सजिलो हुनेथियो ।’

छत्रेश्वरी ४ को पोखरा सम्म यस अघि मोटरबाटो पुगिसकेको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिकहरुको जनजीवन फेरीने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले मोटरबाटो निर्माण कार्यको निरिक्षण÷अनुगमन गर्दै निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै स्काभेटर मार्फत गाउँपालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।
८ दिन सम्म स्काभेटरले ब्रेकर मार्फत चट्टान फोडेर करिव १६० मिटर लम्बाई मात्र करिव ४ मिटर चौडाईको सडक निर्माण भएको स्काभेटर अपरेटर प्रेम बहादुर बिष्टले बताए । उनले भने, ‘भुगोल एकदमै ठाडो छ, त्यसै माथी कडा चट्टान छ । माथिबाट ढुंगा खस्ने जोखिम छ । मैले छधेश्वरीमा काम गर्दैगर्दा सायद हाल सम्मको जटिल भुगोल यहि नै होला ।’
स्थानीयहरुले जसरी भएपछि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारिकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने जनाउँदै स्थानीय फौद बहादुर खत्रीले चट्टान फोडेर बाटो बनाउन थालेको गाउँपालिकाले यो कामलाई गन्तव्यमा पुर्याउन आग्रह गरे । सडक अभावमा अहिले भिरको जटिल बाटो हिड्न बाध्य स्थानीयहरुले बिरामीलाई उपचारका लागि लैजान समेत मुस्किल हुने गरेको बताउँछन् ।

भेरिखोर, आकासी र कालुपहरका नागरिकहरु बर्षौं देखि मोटरबाटोको सुविधा प्राप्त गर्ने आशाले सार्थकता पाउने विश्वास सहित उत्साहित छन् । यो मोटरबाटो निर्माण भएपछी करिव १५ घरधुरिलाइ प्रत्यक्ष रुपमा बिषेश र अन्य सयौं घरधुरीलाई लाभ पुग्ने छ । अब भेरिखोर सम्म मोटरबाटो जोड्न करिव एक हजार पाँच सय मिटर बांकी छ ।






