सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
काठमाडौं ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि सोमबार राति १–३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।
उनकोबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।
यस्तै सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।
नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय गरेको उनले बताए ।
नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय हुने उनको भनाइ छ ।





