परीक्षण उडानमा राजनीति बन्द गर !

कर्णाली प्रदेश आवश्यकताको आधारमा मात्र हवाई सेवा प्रयोग गर्ने प्रदेश हो । यहाँका नागरिकलाई हवाई सेवा प्रयोग गर्नुपर्ने वाध्यता नै हुन्छ । प्रदेशका सडक पूर्वाधार सबै समयमा निरन्तर रुपमा सञ्चालनमा रहदैनन् । वर्षात्को समयमा त झन् हप्तौसम्म पनि सडक सुचारु हुन समय लागेको हुन्छ । यस्तो अवस्थामा कर्णालीका लागि एक मात्र विकल्प भनेकै हवाई सेवा हो ।

परीक्षण उडानका लागि दुई पटक म्याद गुजारेको कर्णालीका दुई विमानस्थलको फेरि नयाँ मिति तोकिएको छ । कालिकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले भदौ १३, असोज १३ गरेर तोकिएका दुईवटा मितिले भाका नाघे पनि अब नयाँ मिति असोज २४ गतेलाई राखिएको छ । कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परे पनि निर्माणको काम भने नियमित हुन सकेन। ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मसिनेचौरमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको थियो ।

नेताहरुद्वारा उद्घाटनको लोभले कर्णालीको हवाई सेवामाथी नै संवेदनशिलता अपनाईएको छैन । प्रदेश भित्र आफ्नै जिल्लाहरुमा जान समेत अर्को प्रदेशको विमानस्थल धाउनुपर्ने कर्णालीको वाध्यता कहिले अन्त्य हुने हो ? यस तर्फ खासगरी संघीय सरकारले विशेष ध्यान दिन जरुरी छ । अन्तर प्रदेश हवाई सेवा समेत कर्णालीलाई आवश्यक छ । यसका साथै वीरेन्द्रनगरबाट नै कर्णालीका जिल्लाहरुमा आन्तरिक उडान आवश्यक छ । यसअघि वीरेन्द्रनगरबाट हुम्ला, डोल्पा लगायतका जिल्लामा भईरहेको आन्तरिक उडान समेत अहिले प्रभावित नै छ । यस तर्फ नियमित उडानहरु सञ्चालन गर्नुपर्छ । यो व्यवस्था भए मात्र कर्णालीका नागरिकहरु हवाई सेवामा पहुँच बढाउन सक्छन् । अन्यथा कर्णालीलाई यातायातको पूर्वाधारबाट उकास्न असम्भव झै देखिन्छ । त्यसैले कर्णालीका विमानस्थलमा नियमित उडान तथा प्रदेशमा आन्तरिक उडान सञ्चालन गर्न संघीय सरकारले ध्यान दिनुपर्छ । उद्घाटनको लोभ जस्ता विषयले कर्णालीवासीको अधिकारलाई पन्छाउन पाईदैन ।

परीक्षण उडानमा राजनीति बन्द गर !

५१८ वर्ष यता भूकम्पबाट जोगिएको पश्चिम नेपाल

परीक्षण उडानमा राजनीति बन्द गर !

रुकुम पश्चिमको काका खोलामा शव भेटियो