हुम्लाका खाद्य डिपोमा बिहिवारदेखि ढुवानी हुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीले हुम्लामा खाद्यान्न अभाव चुलिएको छ । ढुवानी जिम्मा पाएका सप्लायर्सले समयमै ढुवानी नगरेपछि अभाव चुलिँदै गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले स्थलगत (सतहमार्ग) ढुवानी चाँडो गराउन ११ मंसिरमा ढुवानीकर्ता चाङला अर्डर एन्ड सप्लायर्स सिमकोटका प्रोपाइटर प्रकाश रावत र एलबी सप्लायर्स अदानचुली– २ हुम्लाका प्रोपाइटर लोकेन्द्र भण्डारीलाई ताकेता पठाएको थियो ।
ढुवानी जिम्मा पाएका एलबी सप्लायर्स अदानचुली र चाङला अर्डर एन्ड सप्लायर्स सिमकोटले भोलि बिहीवारबाट ढुवानी गर्ने भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार बिहीवार नेपालगन्जबाट एलबी सप्लायर्स अदानचुली–२ का प्रोपाइटर लोकेन्द्र भण्डारीले चार सय क्विन्टल नेपालगन्जबाट बोक्न थालेको जानकारी दिए ।
‘एलबी सप्लायर्सले एक सय क्विन्टल खाद्यान्न हुम्लाको सल्लीसल्ला पु¥याइसकेको छ,’ उनले नयाँ भने ।
सुर्खेतबाट पनि चाङला सप्लायर्सले एक–दुई दिनमा चार सय क्विन्टल उठाउने तयारी भएको शाखा प्रमुख अधिकारीले बताए ।
स्थलमार्ग (सतहमार्ग)बाट बिहीबारदेखि ढुवानी हुने भएको छ भने हवाईमार्गबाट ढुवानी हुने १० हजार क्विन्टल खाद्यान्न हप्ता–दश दिनमै ढुवानी हुने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका शाखा प्रमुख अधिकारीको भनाइ छ ।
प्रधान कार्यालयबाट हवाईमार्गबाट ढुवानी हुने खाद्यान्न हप्ता–दश दिनमै ढुवानी हुने अधिकारीले जानकारी दिए ।






