निर्वाचनमा गठबन्धनको काइदा, नेताका नातागोतालाई फाईदै फाइदा

सुर्खेत, १५ बैशाख ।
कर्णाली प्रदेशमा रहेका अधिकांश दलका शीर्ष नेताहरुले आफू र आफ्ना आफन्तलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाएर स्थानीय तहलाई आफन्त भर्ति केन्द्र बनाउन थालेका छन् ।

कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादीका प्रदेश अध्यक्षले आफ्नै श्रीमती र श्रीमानलाई पालिकाको उम्मेदवार बनाएका छन् । आफ्नै हस्ताक्षरमा टिकट वितरण गर्ने अवसर पाएका नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहले आफ्नो श्रीमती लक्ष्मीदेवि शाहलाई दैलेखको ठाटीँकाध गाउँपालिका अध्यक्षको टिकट दिलाएका छन् ।

नातावाद कांग्रेसमा मात्रै होइन एमालेमा पनि झाँगिएको छ । दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएपछि युवा नेता मदन रिजालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

‘दबाब र रबाफमा जनमतको कदर नहुने भएपछि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘लामो समय बाहिरै बस्ने, एकाएक गाउँपालिका अध्यक्ष खोजेर हुन्छ ?’ नेकपा एमाले केन्द्रीय लेखा आयोगको सदस्य रहेकी शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत हुन । उनी निर्वाचित भएदेखि ५ वर्षसम्म गाउँमा नआएको रिजालले बताए ।

नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन । आफू फेरि प्रमुखको उम्मेदवार नहुने भएपछि बहिनीलाई उपप्रमुखको उम्मेदवार बनाएको एमालेका एक जिल्ला सदस्यले बताए ।

नाता सम्बन्ध, पैसा र पहुँचका आधारमा स्थानीय तहको उम्मेदवार बन्ने प्रवृत्ति हाबी हुँदै गएको नारायण–१ का जयसिंह थापाले बताए । ‘अब राजनीतिमा योगदानभन्दा पनि नेताको नजिक र आफन्त हुनुपर्ने देखियो,’ उनले भने, ‘इमानदार नेताहरूलाई परिवार पाल्नै मुस्किल छ, विभिन्न दाउपेच गर्नेहरूले धमाधम टिकट पाउन थाले ।’

माओवादी केन्द्रमा पनि उस्तै
नेकपा माओवादीको प्रदेश अध्यक्ष विमला केसीले रुकुम पश्चिममा आफ्नै श्रीमान वसन्त कुमार शर्मालाई टिकट दिलाएकी छिन् । शर्माले रुकुमको मुसिकोट नगरप्रमुखमा टिकट पाएका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रका विभिन्न ९ जना आकांक्षी थिए । अन्तिममा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाए । स्थानीय गोविन्द केसीले जिल्लामा अर्थमन्त्री जनार्दन शर्माको चाहनाबिना कुनै पनि राजनीतिक काम नहुने बताए ।

‘यसअघि पनि उनका काकाले नै टिकट पाएर ५ वर्ष स्थानीय सरकार चलाए,’ उनले भने, ‘अहिले पनि टिकट भाइलाई प¥यो ।’ उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाइका छोरा हुन । उम्मेदवार शर्माले भने आफ्नो विषयमा सिंगो पार्टी र जनताले बुझेको भन्दै यस विषयमा बोल्न चाहेनन ।

सरकारका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो भाई नाता पर्नेलाई समेत टिकट दिलाएका छन् । अर्थमन्त्री शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार भएका हुन । उनी उम्मेदवार भएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

काँग्रेस उपसभापतिको साली प्रमुखको उम्मेदवार
उनी मात्रै होइन, नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले समेत आफ्नो सालीलाई दैलेखको नारायण नगर प्रमुखको टिकट दिलाएका छन् । दैलेखमा निर्मला थापाले टिकट पाएकी हुन । दैलेखको नारायण नगरपालिका प्रमुखमा कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको थियो ।

एक सातासम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रदेश समितिले केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । ‘उनीभन्दा अरू योग्य व्यक्ति पनि थिए,’ कर्णाली प्रदेशका एक पदाधिकारीले भने, ‘माथिको निर्देशन भन्दै हामीलाई कुरा राख्नै दिइएन ।’

कांग्रेसको कोइराला समूहबाट यसअघि महाधिवेशन प्रतिनिधिमा विजयी भएकी खड्का चुनावको मुखैमा देउवा समूहमा प्रवेश गरेकी हुन । २०७४ को स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन ।

उनले टिकट पाएपछि नगर प्रमुखका आकांक्षीहरू प्रकाश न्यौपाने, क्षेत्रीय सभापति गणेश उपाध्याय, महाधिवेशन प्रतिनिधि वासना थापा, भूपेन्द्र शाही, खेमराज केसी, मनोज थापालगायत नेता रुष्ट बनेका छन । ‘गुट र आफन्तको नाम भजाएरै नेता हुने भए हामीले वर्षौंसम्म टोलटोल पुगेर संगठन बनाएको के काम ?’ एक आकांक्षीले भने, ‘नातावाद र गुटबन्दीका कारण कार्यकर्तामा वितृष्णा जागेको छ ।’

त्यस्तै, कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगर प्रमुखमा उम्मेदवारी पाएका छन । दैेलेखमा गठबन्धन कायम भएमा शाहीको उम्मेदवारी फिर्ता हुने देखिउको छ तर उम्मेदवारका अन्य आकांक्षी भएपनि शाहीले नै टिकट पाएका हुन ।

मन्त्री शाहीकै दबाबमा उनलाई नगर समितिले उम्मेदवार सिफारिस गरेको थियो । गणेशले मन्त्रीको छोरा मात्रै नभएर पार्टीमा ठूलो योगदान भएकाले आफू नगर प्रमुखको उम्मेदवार बनेको दाबी सुनाए । उनी यसअघिको स्थानीय निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृह जिल्ला कालीकोटको नरहरिनाथ गाउँपालिका उपाध्यक्षमा कलशा विकले उम्मेदवारी गराएकी छिन् । उनी प्रकाण्डकी भाइबुहारी हुन् ।

केन्द्रका प्रभावशाली नेताका आफ्न्त सेट
सत्ता गठबन्धनमा आबद्ध दलका विभिन्न जिल्लाका नेता कार्यकर्ताले गठबन्धनका नाममा टिकट नपाएर विद्रोह गरिरहेका बेला शीर्ष र प्रभावशाली नेताले भने आफ्नो परिवारका सदस्य सेट गरेका छन् ।

केही नेता र तीनका परिवारका सदस्य जिताउन गठबन्धन गरेको भन्दै तलबाट कार्यकर्ताले विरोध गरिरहेका छन् । तर देशका ६ मध्ये तीन महानगरपालिकाको मुख्य पदमा नेताका परिवारले मौका पाएका छन् ।

भरतपुर महानगरपालिकामा गठबन्धनका शीर्ष नेता प्रचण्डकी छोरी रेनु मेयरको उम्मेदवार बनेकी छन् । प्रचण्डको छोरीका लागि चितवन कांग्रेसले आफ्नो आधार भूमि गुमाउनु परेको भन्दै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यता काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई गठबन्धनबाट मेयरको उम्मेदवार बन्ने मौका मिलेको छ । विद्यार्थी कालपछि सक्रिय राजनीतिमा नरहेकी सिर्जनालाई गठबन्धनले मेयरको उम्मेदवार बन्ने मौका मिल्यो ।

कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति जिताउन सहयोग गरेको गुन देउवाले गठबन्धनबाट प्रकाशमान पत्नीलाई मेयरको टिकट दिएर तिरेको टिप्पणी कांग्रेसमा भइरहेको छ । त्यस्तै गठबन्धनकै अर्का शीर्ष नेता उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट छोरा अमरेन्द्रलाई उम्मेदवार बनाएका छन् ।

उपेन्द्रले छोरालाई अघि बढाएपछि यसअघि मेयर उम्मेदवार बनेर तेस्रो भएका जसपाका नेता उमेश यादवले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताका परिवारलाई सेट गर्न गठबन्धन बनाइएकाले आफूले विद्रोह गर्नुपरेको यादवले बताए ।

कांग्रेसकै अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाएका छन् । यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाणलाई यसपटक माओवादी, नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका गुमाउन चाहेनन् ।

गठबन्धनको निर्णय तोडेर मन्त्रीका छोरा बने उम्मेदवार !
आइतबार प्रदेश स्तरिय गठबन्धन संयन्त्रको बैठकले झण्डै चार दिन लगायर धौ–धौ पालिकाहरुको सीट बाँडफाँट गरयो । तर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा भने उक्त निर्णय काँग्रेसलाई स्वीकार भएन् ।

प्रदेश संयन्त्रको निर्णयको केही समय पश्चात नै एक विज्ञप्ति जारी गर्दै गठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै एक्लै चुनाव लड्न काँग्रेस अघि स¥यो ।

बाँडफाँट गर्दा त्यहाँ प्रमुख नेकपा एकीकृत समाजवादीलाई र उपप्रमुख काँग्रेसलाई भाग परेको थियो । नगर कार्य समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश कार्यसमितिको मिति २०७९ बैशाख ११ गते गरेको निर्णयप्रति चामुण्डाविन्द्रासैनी नगर कार्य समिति घोर आपत्ती गर्दछौ ।’ नमान्नुको एउटै कारण थियो ‘चामुण्डामा काँग्रेसको सांगठनिक अवस्था माओवादी, समाजवादी भन्दा बलियो छ ।’

सोही अनुसार सोमबार काँग्रेसबाट गणेश कुमार शाहीले मेयर पदका उम्मेदवारी दर्ता गराए । उनी कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका पुत्र हुन् भने ०७४ को निर्वाचनमा मेयरमै पराजित हुन् । हेक्का रहोस मन्त्री शाही त्यही समाजवादी र माओवादीको वैशाखी टेकेर मन्त्री बनेका थिए ।

यदि प्रदेशमा तीन दलिय गठबन्धन नभएको भए उनी मन्त्री बन्ने अवसर पाउँथेनन्’ एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँ (मन्त्री) ज्यूले हामीले साथ दिएर मन्त्री बनेको बिर्सनुभयो । उल्टै कार्यकर्तालाई उचालेर एकल उम्मेदवारी दिँन सहयोग गर्नुभयो ।’ ठाटीकाँध गाउँपालिकाको अध्यक्ष माओवादीलाई भाग परेको थियो भने उपाध्यक्ष काँग्रेसलाई ।

तर ठाटीकाँध काँग्रेसले पनि उक्त निर्णय स्वीकार गरेन् । सोमबार काँग्रेस–माओवादीले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराए । दैलेखमा नारायण नगरपालिका बाहेकका पालिकाहरुमा गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराइएको छ ।

यति मात्र होइन् दैलेखको नौमुलेमा काँग्रेसका सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरी एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार बने । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौंट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमुल्यन गर्दै पैसावाला सिमित दलाल, ठेकेदार तथा भ्रष्टहरुलाई टिकट बिक्री गर्ने पार्टीका केहि दलाल नेताहरुका विरुद्ध घोर आपत्ती प्रकट गर्दछु ।’

नेकपा माओवादी केन्द्रका जिल्ला तहका एक नेताले भने,‘ गठबन्धनको निर्णय अनुसार काँग्रेसका नेता, कार्यकर्ताले इमानदारीता देखाएनन् । जसले गर्दा उम्मेदवारी दर्तामा गडबड भयो । उहाँहरु (काँग्रेस)ले आफ्नो संगठन संरचना भएको ठाउँमा अन्य दललाई स्वीकार गर्न राजि हुनुभएन् । यो उहाँहरुको अहम्ता हो ।’

भागवण्डा अनुसार उम्मेदवार कायम गर्न निर्देशन
दलहरुले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएपछि नेपाली काँग्रेसले गठबन्धन दलहरुबीचको भागवण्डा अनुसार आफ्नो उम्मेदवारहरु कायम गर्न निर्देशन दिएको छ ।

मंगलबार एक सुचना जारी गर्दै जिल्ला कार्य समिति दैलेखलाई सो निर्देशन दिएको हो । प्रदेश महामन्त्री कृष्णबहादुर रोकायद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ,‘पाँच दलिय गठबन्धन कर्णाली प्रदेश स्तरिय संयन्त्रको बैठकको निर्णयअनुसार पालिकाको सीट बाँडफाँड गरी गठबन्धनका साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी नै छ, सोही अनुसार काँग्रेसले प्राप्त गरेको पदमा मात्र उम्मेदवार कायम गराउन हुन निर्देशन गरिएको छ ।’

निर्देशनपछि मिलाउने प्रयासमा छौं : सभापति रेग्मी
प्रदेश समितिको निर्देशनपछि उम्मेदवारी दर्ता गराएका नेताहरु झस्किएका छन् । काँग्रेसका दैलेख सभापति मणिराम रेग्मीले कुरा गर्दै भने, ‘अब साथीहरुले गराइहालेछन् । प्रदेशबाट निर्देशन आएपछि मिलाउने प्रयत्न गरिरहेको छु ।’

रेग्मीले मंगलबार पनि गठबन्धन दलहरुबीच छलफल गरिएको बताए । उनले भने ,‘कार्यान्वयन गर्न भनिरहेको छौं । कति सफल हुन्छौं । अहिलेपनि बैठक बसेको छ ।’ यद्यपि उनले उम्मेदवारी फिर्ता हुने–नहुने कुरामा भने जवाफ दिन चाहेनन् ।

निर्वाचनमा गठबन्धनको काइदा, नेताका नातागोतालाई फाईदै फाइदा

गाई गोठालो जाँदा चिनजान

निर्वाचनमा गठबन्धनको काइदा, नेताका नातागोतालाई फाईदै फाइदा

जीडीपीमा कृषि क्षेत्रको सबैभन्दा धेरै योगदान, अन्य

Leave a comment

Your email address will not be published. Required fields are marked *