कर्णालीमा ३४८ कैदीबन्दी मतदाता

जुम्ला,२ मंसिर ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीका रहेका कारागारका ३ सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । फौजदारी कसुरको अभियोग लाग्नुभन्दा अघि मतदाता नामावली भरेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन्  । जुम्लामा १ सय ७ कैदीबन्दी रहेकोमा १४ जनाले मतदान गर्न पाउने कारागार जुम्लाले जनाएको छ । तीमध्ये सबै पुरुष मतदाता हुन् ।

मतदानको लागि अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए । उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फको मात्रै मतदान गर्न पाउने व्यवस्था छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पामा १४, सुर्खेतमा १ सय १, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७ कैदीबन्दीले मतदान गर्न पाउने छन्  ।

कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए । उनका अनुसार मतदाता नामावलीमा नाम भरेका कैदीबन्दी मतदान गर्नबाट वञ्चित हुने छैनन्  ।

सुर्खेत कारागारमा रहेका १ सय १ कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । उनीहरूले समानुपातिक तर्फको संघमा मात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए । उनका अनुसार रुकुम पश्चिमको कारागारमा १ सय २४ कैदीबन्दी भएकोमा ६६ जनाले मतदान गर्नेछन् । कारागार प्रमुख अकवीर घर्तीले रुकुम पश्चिम र पूर्वको गरेर ६६ जनाले मतदान गर्ने जानकारी दिए ।

कारागारभित्रैबाट पनि मतदान गर्न पाउने भए पनि कैदीबन्दी उत्साही छ । कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको जेलरहरूको भनाइ छ । कारागारभित्र निर्वाचनमा मतदान गर्ने विषयमा पनि छलफल हुने गरेको जेलर घर्तीले बताए । मुगुबाहेक कर्णालीका ९ जिल्लामा कारागार छन्  ।

कारागारमै मतदान केन्द्र

सल्यानमा विगतदेखि निर्वाचनमा मतदानबाट वञ्चित भएका कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीले यसपालिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्  । निर्वाचन कार्यालयले कारागार भित्र एक र बाहिर चौरमा एक गरी दुई अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैदीबन्दीको लागि कारागारभित्र र सुरक्षाकर्मीको लागि बाहिर अस्थायी मतदान केन्द्रको व्यवस्था गर्ने भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

उनका अनुसार १८ कैदीबन्दीसहित विभिन्न कार्यालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी गरी २ हजार ६ सयले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मतपत्रमा मतदान गर्न पाउनेछन् । प्रतिनिधिसभाको एक र प्रदेशको दुई निर्वाचन क्षेत्र रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् भने २ सय १ मतदान केन्द्र र १ सय १७ मतदानस्थल कायम गरिएको छ ।

खटिए ८ सय ४८ कर्मचारी

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ८ सय ४८ कर्मचारी खटिएका छन्  । जिल्लाको १ सय ८ मतदान केन्द्रमा कर्मचारी खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचीअनुसार १ सय ६ वटा स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा कर्मचारी खटाइएको छ ।

मतदान केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी खटाइएको हो । २ सय ५१ जनाभन्दा कम मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा धेरै मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

कान्तिपुर

कर्णालीमा ३४८ कैदीबन्दी मतदाता

देखिने छैनन् पेले र म्याराडोना

कर्णालीमा ३४८ कैदीबन्दी मतदाता

निर्णायक खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

Leave a comment

Your email address will not be published. Required fields are marked *