कविता : म अर्थात गरिब
नारायण काेइराला

सुर्खेत,२ पाैष ।
म अर्थात् गरिबलाई
के ल्याउँछ
बिहान उज्यालो
के ल्याउँछ
साँझ अँध्यारो
बिहान उज्यालो हुँदा
काम पाइन्छ नाई
भन्ने पिरलो
साँझ घाम अस्ताउँदा
एकमानो घरको अगेंनामा
पाक्छ नाई भन्ने पिरलो
अगेंनामा बलेन् भने आगो
आँखामा बग्छन् आँसुको
धारो
न आँसु पुछ्ने हिम्मत छ
म अर्थात् गरिबको
रातभरि आँसु बग्यो भने
आँखामा मात्र आँसु हुन्छन्
न पोख्न सक्छु
आफ्नो अन्तर आत्माको
वेदना
जल्छ मुटु, बल्छ राँको
न आकाशमा धुवाँ उड्छ
न मुटु जल्नुको अर्थ रहन्छ
म अर्थात् गरिबको
आउँदै छन् रे
मेरा आशाहरु
घोषणा पात्र कोरिएर
मैले आस पनि गरेको छु
कोरिन्छन् कि
केही शब्दहरू
लेखिन्छन् कि बेथाहरु
म अर्थात् गरिबको
कि उहीँ लेख्ने मात्र हो
मैले घोषणा पत्रमात्र
देख्न हो
पुरानै कथा दोहोरिने पो
हो कि
चुनाव सकिँदा सकिँदै
मेरा आशा पनि फेरि
मर्ने हो कि
म अर्थात् गरिबको।





