ठुलो जहाजको परीक्षण उडान सफल : पुसदेखि नियमित उडान गर्ने तयारी

सिर्जना बुढाथोकी
सुर्खेत, १ मंसिर ।
बुद्ध एयरले अंग्रेजी नयाँ वर्षको शुरुवातदेखि काठमाण्डौं– सुर्खेत–काठमाण्डौं रुटमा ७२ सिट क्षमताको एटीआर जहाजबाट सेवा दिन घोषणा गरेको छ । बुधबार सुर्खेत विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको जनाउँदै बुद्धले विज्ञप्ति जारी गरी अंग्रेजी वर्ष २०२३ जनवरी अर्थात आगामी पुस महिनादेखि ठूलो जहाजबाट सेवा दिने घोषणा गरेको हो ।
अहिले ४७ यात्रु क्षमताको जहाजबाट सेवा दिंदै आएको बुद्धले सम्भवतः जनवरी १ तारिख (पुस १७) देखि ७२ यात्रु सिट क्षमताको ठूलो विमानबाट दुई वटा नियमित उडान गर्ने गरी तयारी गरिएको जनाएको छ । ४७ सिट क्षमताको जहाजबाट दैनिक एक उडान मात्र हुँदा चर्को शुल्क तिर्नुपरेको गुनासो बढ्दै जाँदा बुद्धले ठूलो जहाजबाट न्यूनतम ७ हजार ५ सय टिकट मूल्य रहने उल्लेख गरेको छ ।

७२ यात्रु क्षमताको एटीआर जहाजबाट सुर्खेत उडान भएपछि यात्री लाभान्वित हुने बताउँदै एयरलाइन्सले एटीआर ७२ बाट सुर्खेत उडान थालेपछि न्यूनतम टिकट दर ७ हजार ५ सय हाराहारी हुने जानकारी दिएको छ । बुधबार बिहान नेपालगञ्जबाट सुर्खेतका लागि भएको परीक्षण उडानमा आएका बुद्ध एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरुलाई सुर्खेत उद्योग वाणिज्य संघले फुल मालासहित स्वागत गरेको थियो ।
परीक्षण उडानपछि एयरलाइन्सले प्राधिकरणलाई बुझाउने प्रतिवेदनका आधारमा प्राधिकरणले अनुमति दिएपछि नियमित फ्लाइट सेड्यूल सार्वजनिक गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले बताए । ठूला जहाजमार्फत उडानका लागि सुर्खेत विमानस्थलको क्षमता विस्तार गरिएको बताउँदै प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सुर्खेतमा एटिआर जहाजको उडान शुरु हुने बित्तिकै भाडापनि सस्तो हुनाका साथै यात्रुलाई सहज हुने विश्वास व्यक्त गरे ।
काठमाडौंबाट आउँदा क्षमता अनुसारको ७२ जना नै बोकेर आउनसक्ने भएपनि सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ अपुग भएका कारण लोड रेस्ट्रिक्सनका लागि केही सिट खाली राख्नुपर्ने बुद्धका प्राविधिकहरुले बताएका छन् । सुर्खेतमा करिव ५ वर्षअघि बुद्धले ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानमार्फत काठमाडौं–सुर्खेत–काठमाडौं सिधा उडान थालेपनि भाडादर अचाक्ली महंगो भएका कारण नेपालगञ्ज हुँदै जाने संख्या पनि उत्तिकै थियो ।
प्रदेशको राजधानीजस्तो ठाउँमा ठूलो जहाजमार्फत सहुलियत दरमा दैनिक उडान गर्नुपर्ने माग सुर्खेत उद्योग वाणिज्य संघलगायतका संघसंस्थाहरुले राख्दै आएका थिए। यसपटक पनि संघले लिखित र मौखिक रुपमा बुद्ध एयरको व्यवस्थापन तथा नागरिक उड्डयन प्राधिकरणमा निरन्तर पहल प्रयास गरेपछि परीक्षण उडान भएको संघका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।
सुर्खेत विमानस्थलमा ठूला जहाजमार्फत हुने उडानले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको उनले उल्लेख गरे । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पनि हप्तामा कम्तिमा ३ वटा सहुलियतसहितको उडान गर्नका लागि दवाबमूलक पहल भइरहेको उनले जानकारी दिए ।






