बजेट कार्यान्वयन होस्
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । बजेटबारे विभिन्न टिकाटिप्पणीहरु पनि आइरहेका छन् । सत्तारुढ दलले यसको खुलेर स्वागत गरेको छ भने विपक्षीले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेट कस्तो आयो भन्दा पनि बजेट कर्णालीलाई कसरी सम्बोधन गरेको छ भन्ने मुख्य विषय हो । कर्णाली हिजोदेखि पिछडिएको छ ।
केन्द्रले सधै बजेटमा विभेद गरेको थियो । यही कारण कर्णालीले सन्तुष्टि कहिले पनि जनाउन सकेन । तर पछिल्ला दिनमा देशमा संघीयता लागू भयो । संघीयताले कर्णालीको भावनालाई आत्मसात गर्ने अपेक्षा पनि गरियो । तर पनि केन्द्रकै सहायतामा कर्णालीले विकास गर्नुपर्ने बाध्यता अहिले पनि छ । यस्तो अवस्थामा केन्द्र सरकारले उपलब्ध गराउने बजेट र समेट्ने नीति तथा कार्यक्रमले कर्णालीको विकासमा अर्थ राख्दछ ।
शनिवार सार्वजनिक गरिएको बजेटले कर्णालीमा अपेक्षा अनुसार नयाँ आयोजना र कार्यक्रम भने देखिएनन् । अधिकांश पुराना आयोजना नै दोहोरिएका छन् । राज्यले कर्णालीलाई विशेष सहायता उपलब्ध गराउनु पर्दछ । यहाँको भौगोलिक विकटता, सामाजिक पछौटेपन, पूर्वाधारमा तीव्र विकास र कर्णालीबासीको आर्थिक अवस्थामा सुधार ल्याउन यतिले पुग्दैन । राज्यले विशेष अनुदान दिनै पर्ने हुन्छ । तर यसपालीको बजेटमा कर्णालीमा पुराना आयोजना नै प्राथमिकतामा परेका छन् ।
जस्तै भेरी बबई आयोजना, सुर्खेत विमानस्थलको विस्तार, कर्णाली राजमार्ग, रत्न राजमार्गलाई दुईलाइन बनाउने, काँक्रेविहारको गुरुयोजना, वेतान कर्णाली जलविद्युत, हुम्ला सडक, पत्थर उत्खनन्, रंगशाला र औद्योगिक क्षेत्र स्थापना लगायतका आयोजना यसअघि पनि घोषणा गरिएका हुन् । बजेट भाषणमा आउने तर कार्यान्वयन नहुने समस्या देखिएको छ ।
अघिल्ला बजेटमा समावेश भएका अधिकांश ठूला आयोजना हालसम्म कार्यान्वयन भएका छैनन् । बरु आएको बजेट पनि खर्च नभएर फिर्ता हुने गरेको छ । यस्तो अवस्थामा यसपाली उच्चारण गरिएको नयाँ आयोजनाहरुको कार्यान्वयनबारे आशंका गर्ने ठाउँ छन् । त्यसकारण बजेटले के दियो भन्दा पनि कसरी कार्यान्वयन हुन्छ भन्ने मुख्य विषय हो ।
बजेटले केही लोकप्रिय कार्यक्रम पनि समेटेको छ । वितणमुखी बजेटले सरकारप्रति केही आशा पनि बढेका छन् । तर अहिले घोषणा गरिएको सामाजिक सुरक्षा, भौतिक निर्माण र रुपान्तरणका कार्यक्रमहरु कार्यान्वयनमा सरकार कतिको चनाखो हुन्छ भन्ने हो । विगतमा घोषणा गरिए जस्तै यसपाली पनि केवल भाषणमा त सिमित हुने होइनन् ।
नागरिकले प्रश्न गर्ने ठाउँ धेरै छन् । जेहोस् बजेटले केही नयाँ आयोजना र पुराना आयोजनालाई पनि पुन समावेश गरिएको छ । हो सकारात्मक त्यतिबेला हुन्छ, जब सरकारले आफ्नो घोषणालाई पूर्णरुपमा कार्यान्वयन गर्नेछ । बजेट भाषण आउनु, कागजमा समेटिनु वा बोलिनु मुख्य होइन । त्यसलाई कार्यान्वयन तहमा लगेर नागरिकले अनुभूति गर्दै त्यसबाट लाभ लिन पाउनु मुख्य हो । यसकारण सरकारले जसरी सरकारले बजेटमा आयोजनाहरु समावेश गरेको छ, अब त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान देओस् । बजेट कार्यान्वयन होस् ।





