सरसफाइ सहितको एकीकृत खानेपानी आयोजनाको प्रस्ताव

सुर्खेत । जब खडेरीको मौसम सुरु हुन्छ, तब वीरेन्द्रनगरमा खानेपानीको हाहाकार नै हुन्छ । वीरेन्द्रनगरवासीका लागि हरेक बर्ष खडेरीमा प्यास मेटाउन हम्मेहम्मे पर्छ । खानेपानी समस्या पछिल्लो समय झन् विकराल बन्दै गएको छ । बर्खामा पानी पर्याप्त भए पनि खडेरीमा उपत्यकामा बढी संकट हुन्छ ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि खानेपानीको समस्या झन् बढ्दो छ । बढ्दो शहरीकरण तथा जनसंख्याका बृद्धिका कारण खानेपानी आफूर्ति ठूलो चुनौतीको विषय बनेको छ । सेवा सुविधाको खोजी गर्दै बर्षेनी वीरेन्द्रनगर झर्नेहरुहरुको बढ्दै गएका छन् । २०५७ देखि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था) ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ ।
तर तीव्र रुपमा बढेको जनसंख्याका कारण सुर्खेत उपत्यकामा यो संस्थाले खानेपानी पु¥याउन सकेको छैन । यही समस्यालाई समाधान गर्ने उद्देश्यले ‘एकीकृत खानेपानी तथा सरसफाइ आयोजना’ (भेरीको पानी लिफ्ट आयोजनासहित) को दीर्घकालीन योजना अगाडि सारिएको छ । आयोजना सञ्चालका लागि विश्व बैंकले लगानी गर्नेछ । लगानीको ठूलो क्षेत्र विश्व बैंकले बेहोर्ने छ ।
आवश्यक परेको खण्डमा भने आयोजनामा संघीय सरकारको खानेपानी मन्त्रालय, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उपत्यका खानेपानी आयोजनालेसमेत लगानी बेहोर्ने छन् । चालु आर्थिक बर्षभित्रै आयोजना सुरु गर्ने लक्ष्य राखिएको छ ।
यो आयोजनामा सिंगो वीरेन्द्रनगर क्षेत्रको खानेपानी तथा सरसफाइका योजनाहरु समावेश गरिने छन् । उपत्यका मात्रै वडा नं. १४, १५ र १६ को (गढी, गोठीकाँडा, रुतु) सहितको खानेपानी समस्या साधान गर्ने उद्देश्यले एकीकृत खानेपानी आयोजना अगाडि सारिएको छ ।
जसमा खानेपानीतर्फ उत्तरी जलाधारको संरक्षण, रैथाने खानेपानीको मुहानको संरक्षण, भेरीबाट खानेपानी लिफ्ट आयोजना, उपत्यका बाहिरका गाउँमा खानेपानीको समस्या समाधान लगायतका बृहत आयोजनाहरु समावेश गरिने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । सरसफाइतर्फ ढल निकास, सार्वजनिक शौचालय र सौन्दर्यकरण जस्ता आयोजनहरु समावेश गरिने छन् ।
यसैबीच बृहत गुरुयोजना तयार तथा आयोजना अगाडि बढाउने उद्देश्यले विश्व बैंकका प्रतिनिधि, संघीय खानेपानी मन्त्रालयका प्रतिनिधिले वीरेन्द्रनगर नगरपालिकासँग आयोजना सञ्चालनका लागि प्रारम्भिक छलफल गरेका छन् । आयोजनाको आवश्यकता र सञ्चालनको मोडालिटिबारे छलफल भएको नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । छिट्टै आयोजना सञ्चालनमा आउने उनको भनाइ छ । यो आयोजनाको काम अगाडि बढ्ने र संचालनमा आएपछि उपत्यकाको खानेपानीको हादको संकट समाधान हुने अपेक्षा गरिएको छ ।
भेरीको पानी लिफ्ट गर्न लगानी सुनिश्चित
भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने आयोजना लागि लगानी पनि सुनिश्चि भएको छ । आयोजना सञ्चालनका लागि विश्व बैंक लगानी गर्न सहमत भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । यो आयोजना सञ्चालनका लागि झण्डै ६ अर्ब रकम लाग्ने अनुमान गरिएको छ ।
भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्मका पानी ल्याउन एक अर्ब ५० करोड र वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ । यसअघि आयोजना सञ्चालनका लागि संघीय खानेपानी मन्त्रालय, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाले लगानी बेहोर्ने सहमति थियो ।
तर लगानीको सुनिश्चितता नहुँदा आयोजना अगाडि बढाउन सकिएको थिएन । विश्व बैंक लगानी गर्न तयार भएसँगै आयोजना सञ्चालनको आश पलाएको हो । लगानीका लागि विश्व बैंकका नेपाल प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयको प्रतिनिधिले आयोजनाको स्थलगत अध्ययन, हालसम्मको प्रगति अवस्थाको अध्ययन गरेर फर्किएको छ । लगानी र आयोजना सञ्चालनका लागि टोलीले आयोजनाको स्थलगत अध्ययन, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थासँग आवश्यक समन्व तथा छलफलसमेत गरेको छ ।
‘मंसिरभित्रै काम हुन्छ’
भेरीको पानी लिफ्ट गर्ने आयोजना आउँदो मंसिरबाट कार्यान्वयन हुने भएको छ । लगानीको सुनिश्चिता भएसँगै मंसिरभित्र आयोजना कार्यान्वयनमा जाने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जनाए ।
‘लगानी सुनिश्चित भएको छ, अब मंसिरभित्रै आयोजना कार्यान्वनमा लैजान्छौँ’ उनले भने, ‘डीपीआर तयार हुनेवित्तिकै टेन्डर पनि हुन्छ ।’ मंसिरभित्रै आयोजना कार्यान्वय गर्नेगरी तयारी भइरहेको देवकोटाले बताए । गत बैशाखभित्रै तयार गर्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण डीपीआर निर्माणमा ढिलाइ भएको थियो ।
डीपीआर अन्तिम चरणमा पुगेको भन्दै उनले मंसिरभित्रै आयोजना कार्यान्वयनका लागि टेन्टर हुने बताए । भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा खानेपानीको समस्या टार्नका लागि यो आयोजना हालसम्मकै ठूलो आयोजना हो । यो आयोजना संचालनमा आए करिव ३० बर्षसम्म उपत्यकामा खानेपानीको समस्या समाधान हुने दाबी गरिएको छ ।
वीरेन्द्रनगरमा सहज खानेपानी सुविधा पु¥याउन भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्रा खोलाबाट व्यवस्थापन गरिनेछ । आयोजनाले हाल झुप्रा मुहानसहित खरी–बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले तालको पानी आपूर्ति गर्दै आएको छ । खडेरीमा मुहान सुक्ने भएका कारण खानीपानीको हाहाकार नै हुन्छ । खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्न यो योजना विकल्पको रुपमा अगाडि सारिएको हो ।






