बल्ल अघि बढ्यो खुलालु पुलको काम
कालिकोट, ११ फागुन ।
निर्माण शुरू गरेको १० वर्षसम्म अलपत्र परेको कालिकोट–खुलालु सडकखण्डमा पक्की पुल निर्माणले गति लिएको छ । कर्णालीकै गौरवको आयोजना भनिएको यो पुल निर्माण जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालि र सडक डिभिजन कार्यालय जुम्लाको चरम लापरबाहीले अलपत्र पारेका थिए।
यो पूल बनेपछि कालीकोट– खुलालु सडकखण्ड कर्णाली करिडोरमा जोडिनेछ । २०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र २०७१ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि पुलको शिलान्यास गरेका थिए । दुई पटक शिलान्यास भएको पुल निर्माणको काम एक दशकसम्म पनि सकिएको छैन । शिलान्यास भएको
एक दशकपछि अलपत्र पुल निर्माण थालिएको हो । निर्माण कम्पनीले आउने असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता गरेको छ । अब छिट्टै पुल निर्माण हुने भन्दै स्थानीयहरू खुशी भएका छन् । सडक डिभिजनले समयमै नक्सा नदिँदा
निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीले दाबी गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माणकार्य अलपत्र गरेको परेको ठेकेदार कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताए । उनले भने, ‘नक्सा पाइसकेपछि २०७४ सालदेखि निर्माण कार्य शुरू गरेका थियौँ। नदीको पानी कम भएपछि हिउँदको ६ महिना काम हुने, तर बर्खामा पानी बढ्दा काम गर्न सकिएन, त्यसकारण निर्माणमा ढिलाई भयो । पुलको लागत १६ करोड रुपैयाँ बढी हो ।’
कम्पनीका प्रतिनिधि मैनालीका अनुसार, लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने योजना थियो । लकडाउनले गर्दा काम ६ महिनासम्म पूर्णरूपमा रोकियो । अब आउने असारसम्म पुल निर्माण गरी सक्ने मैनालीले बताए।पुलको
निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । निर्माण निम्ति आवश्यक सबै सामग्री पनि ठेकेदारले ल्याइसकेको छ । यहाँ पुल नहुँदा नदीमा फेरीबाट गाडी तारेर कर्णाली करिडोरमा केही यातायात संचालनमा छन् । थोरै गाडीहरू रहेको र भाडामा मनपरी गर्दा यात्रा महंगो पर्ने गरेको छ ।