सहमति कार्यान्वयनकाे माग गर्दै विप्लव पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।
ओली र विप्लव समूहबीच सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए ।

‘पार्टी महासचिव र प्रवक्ता सहमति कार्यान्वयनका बिषयमा छलफल गर्न बालुवाटार जानुभएको हो । त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएका छौँ’ उनले भने ।
ओलीसँग पार्टीका जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा खारेजीलगायतका बिषयमा छलफल भएको उनले बताए ।
‘बन्दी रिहाइको प्रक्रिया त चलिरहेको छ । तर, हामीले त्यसलाई छिटो गर्नुपर्यो भनेका हौँ’ उनले भने ।
सरकारसँग विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तीन बुँदे सहमति भएको थियो ।
फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थिए ।






