बजेट कार्यान्वयन होस्
यतिबेला कोरोना महामारीले देश आक्रान्त छ । दिनहुँ मृत्युदर बढ्दो छ । संक्रमितहरु पनि थपिने क्रम रोकिएको छैन । अस्पतालहरुले थेग्न नसक्ने अवस्था आइरहेको छ । संक्रमित बढेपछि अस्पतालमा पूर्वाधार अभाव छ । अक्सिजन प्लान्ट, सिलिण्डर, आईसीयु र भेन्टिलेटरको अभाव छ । त्यतिमात्र होइन, आवश्यक स्वास्थ्यकर्मी पनि छैनन् ।
यसको मारमा सर्वसाधारण नागरिक परेका छन् । यो महामारीमा अधिकांश संक्रमित घरमै बस्न बाध्य छन् । उपचारका लागि अस्पतालमा पुगे पनि अक्सिजन नपाउने अवस्था छ । कतिपय अस्पतालहरुमा स्वास्थ्यकर्मी छैनन् । दुर्गममा स्थापना भएका आइसोलेसनमा स्वास्थ्य सामग्रीको अभाव छ ।
यसले यो महामारी नियन्त्रणमा चुनौती थपेको छ । हिजो बजेट अभावमा स्वास्थ्य पूर्वाधारमा लगानी गरिएन । सडक निर्माणलाई नै विकास ठानियो । तर अहिले स्वास्थ्यमा लगानी नगर्दा समस्या बढेको छ । यद्यपी यतिबेला राज्यबाट स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुन थालेको छ । सरकारले बजेट उपलब्ध गराउन थालेको छ । कर्णालीको केन्द्रीय अस्पतालका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अहिले बजेट अभाव छैन ।
कारण पछिल्लो समय प्रदेश र केन्द्र सरकार दुबैले अस्पतालका लागि बजेट उपलब्ध गराउन थालेका छन् । प्रदेश सरकारले पटकपटक अस्पतालमा स्वास्थ्य पूर्वाधार थप्न बजेट उपलब्ध गराइरहेको छ । यस्तै केन्द्र सरकारले मात्र आइतबार यही अस्पतालका लागि भन्दै १९ करोड बजेट उपलब्ध गराउने निर्णय गरेको छ । यो महामारीमा यो बजेट अस्पतालका लागि ठूलो राहत हो ।
हिजो बजेट अभावमा काम र सेवा दिन सकिएन भन्ने अस्पताल यतिबेला चाहेमा अत्याधुनिक सेवा दिन पनि सक्ने अवस्थामा पुगेको छ । केन्द्र सरकारले अस्पतालमा अक्सिजन प्लान्ट, आईसीयु र भेन्टिलेटर थप्नका लागि बजेट उपलब्ध गराएको हो ।
अब सरकारले उपलब्ध गराएको बजेट कार्यान्यन गर्नेतर्फ अस्पताल प्रशासन र व्यवस्थापन टीम लाग्नु पर्दछ । बजेटको तत्काल कार्यान्वयन गर्दै नागरिकलाई यो महामारीबाट जोगाउनेतर्फ अस्पतालको ध्यान जाओस् । देशमा मुख्य समस्या स्रोत र साधनको अभाव देखाउने गरिन्छ । तर भएको स्रोतलाई सही रुपमा परिचालन नगर्दा बढी समस्याहरु देखिएका छन् ।
बजेट छैन भन्दै प्रशासकहरु पछिन्ने गरेका छन् । तर भएको स्रोतलाई परिचालन गर्दै सेवा प्रवाह गर्नेतर्फ भने कमैको ध्यान छ । कर्णालीमा पनि यही समस्या छ । अर्थात बजेटको सही रुपमा कार्यान्वयन मात्र हुने हो भने धेरै समस्याहरु समाधान गर्न सकिन्छ । नागरिकलाई सहज रुपमा सेवा दिन सकिन्छ । तर त्यसो भइरहेको छैन ।
समयमै बजेट खर्च गर्न नसक्ने अवस्था छ । भएको बजेट नै खर्च नुहँदा सेवा पाउनबाट नागरिकहरु बञ्चित भइरहेका छन् । यस्तो अवस्थाबाट मुक्त गराउनका लागि सरकारले स्वास्थ्य क्षेत्रमा उपलब्ध गराएको बजेट कुनै पनि हालतमा कार्यान्वयन हुनु पर्दछ । यो महामारीबाट नागरिकको जीवन रक्षा गर्ने हो भने बजेट कार्यान्वयनलाई तीव्र बनाउनु पर्दछ । जुन शिर्षकका लागि बजेट आएको हो, त्यसमै खर्च हुनु पर्दछ ।





