सम्पादकी ःविकासको संकेत
कर्णालीको मुख्य समस्या यातायात नै हो । यातायातको सहज पहुँच छैन । भौगोलिक विकटताका कारण सबै बस्ती सडकको पहुँचमा छैनन् । यही कारण अधिकांश बस्ती दुर्गम बनेका छन् । सडक निर्माण र विस्तारमा राज्यको लगानी पर्याप्त छै्रन । यसले विकट बस्तीका नागरिकले सुविधा नपाएको अवस्था छ । देशका अन्य स्थानको तुलनामा कर्णलीको 
अवस्था कमजोर छ । बजेट कम लगानी हुने र भौगोलिक रुपमा पनि कठिन भएका कारण अहिले पनि धेरै स्थानीय तहहरु सडक संजालमा जोडिएका छैनन् । जहाँका बासिन्दा हप्तौसम्म पैदल हिँड्न बाध्य छन् । दुर्गम जिल्लाहरुमा अहिले पनि जहाज चढ्नैपर्ने बाध्यता छ । हुनेले जहाज चढे पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले जहाज चढ्न सक्ने अवस्था छैन । यही कारण आज पनि अधिकांश विरामीले समयमै अस्पतालसम्म पुग्न पाउँदैनन् । सुत्केरी र गर्भवतीले सडक र
यातायातको सुविधा नहुँदा बिच बाटोमै प्राण त्याग्नुपर्ने अवस्था छ । अर्कोतर्फ दैनिक उपभोग्य सामान पनि डोकोमा बोक्नुपर्ने बाध्यता हटेको छैन । देशमा संघीयता कार्यान्वयनको चरणमा छ । स्थानीय तहहरु विकास निर्माणमा जुटेका छन् । यद्यपी गाउँको सरकार भनिने अधिकांश स्थानीय तहका केन्द्रसम्म सडक पुगेको छ्रैन । नागरिकहरु सेवा लिनका लागि स्थानीय तहको केन्द्रसम्म पुग्नै नसक्ने अवस्था छ । अर्थात हप्तौ लाग्ने बाध्यता हामीकहाँ छ । यसले पनि स्थानीय सरकारको सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । कर्णालीको राजधानी सुर्खेतमा पनि सडकको अवस्था नाजुक छ । वर्षौं पहिले खनिएका सडकको स्तरोन्नति हुन सकेको छैन । भएका सडकको मर्मत नहुँदा हालत दयनीय नै छ । कालोपत्रे र विस्तार नहुँदा ग्रामीण
क्षेत्रमा थप समस्याहरु भोग्न नागरिक बाध्य छन् । यस्तो अवस्थामा एकैपटक कर्णालीका ४० वटा स्थानीय तहका केन्द्रसम्म पक्की सडक निर्माण हुने भएका छन् । वास्तवमा यसले विकासको संकेत देखिएको छ । सडक नै नभएको स्थानमा पक्की सडक निर्माण गर्ने योजना आफैमा सकारात्मक हो । यसका लागि स्थानीय तहले सम्झौता पनि गरिसेकका छन् । वास्तवमा सडक विकासको पहिलो आधार हो । सडक विना समृद्धि सम्भव छैन । सडकले नै नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ । राज्यले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउँछ । सडकको विकास भएमा मात्र यसले अन्य भौतिक तथा सामाजिक
विकासको ढोका खुल्छ । यसकारण पनि सडक पहिलो आधार हो । स्थानीय तहको केन्द्रसम्म पक्की सडक निर्माण गर्ने योजना कर्णालीको विकास र समृद्धिको मार्ग हुनेछ । यसर्थ बरु यो योजना कार्यान्वयनका लागि अब स्थानीय सरकारहरु गम्भिर बन्नुपर्ने हुन्छ । योजना र कार्यक्रम विगतमा पनि धेरै आए । तर अधिकांश योजनाहरु कागजमै सिमित भए । तर स्थानीय तहको केन्द्रसम्म पक्की सडक निर्माण गर्ने योजना कुनै पनि वहानामा असफल बनाइनु हुँदैन । यसलाई कार्यान्वयन गर्न सकेमा वास्तविक रुपमै कर्णालीमा भौतिक विकासले गति लिनेछ ।




