अफगानिस्तानमा एकै दिन ४३९ तालिबानी लडाकू मारिए

एजेन्सी । अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीहरूको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको अफगानी सुरक्षा निकायहरूले जनाएका छन्।

विषेश गरेर नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायत प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ।

‘सुरक्षा कारबाही तीव्र पारिएका ठाउँमध्ये कान्दहार प्रान्तमा मात्रै २५ लडाकू मारिएको र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ,’ रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व भइरहे पनि पछिल्लो समयमा हिंसात्मक घटना थप बढेका छन्।

अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरूले विभिन्न प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेकाले हिंसात्मक घटना बढेका हुन्।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरूले अफगानिस्तानमा आफ्ना गतिविधिहरूलाई तीव्रता दिएका छन्।

तालिबान लडाकूहरूले अहिलेसम्म झण्डै आधा दर्जन प्रान्तीय राजधानी नियन्त्रणमा लिएको दाबी गरेका छन्। ती क्षेत्रहरूमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ।

लडाकूहरूले हरेक प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयका अधिकारीहरूले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन्।

अफगानिस्तानमा एकै दिन ४३९ तालिबानी लडाकू मारिए

नामिबिया सरकारले ५७ वटा हात्ती बेच्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *