तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् ।
शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।
कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकारसमक्ष पुर्याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

कसले के सुझाव दिए ?
छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताए । कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ उनको भनाइ थियो ।
‘संघीय सरकारमा केन्द्रीकृत मानसिकता छ, विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नुहुँदैन’, उनले भने । उनले विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने धारणा राखे ।
निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भारतमा बढेको संक्रमणलाई देखाएर यहाँ आतंक फैलाउने काम भइरहेको बताए । उनले भने ‘भारतमा फैलिएको संक्रमणलाई देखाएर यहाँ आतंकित बनाउने काम नगरौं ।
यहाँ विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छैन ।’ उनले विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पनि केन्द्र सरकारले एकैपटक नगरी स्थानीय तहलाई जिम्मा दिनुपर्ने बताए । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्ने भन्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने बताए । ‘विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएमा विद्यालय व्यवस्थापनलाई कारबाही गर्नुपर्छ । अहिले नै विद्यालय बन्द नगरौं’ उनले भने ।






