वेलायतमा फाइजरको खोप बालबालिकालाई लगाउन अनुमति

एजेन्सी । वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।
त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ ।
यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए ।
वेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भएपछि फाइजर बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको बताए ।
उनले यो खोप यो उमेर समूहका बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको बताए । कार्यकारी प्रमुख राइनले बालबालिकालाई यो खोपपछि कोरोना संक्रमणको जोखिम अत्यन्त न्यून हुनेसमेत बताएका छन् ।
वेलायतले हालसम्म ६ करोड २० लाख बढी नागरिकलाई कम्तीमा पहिलो डोज खोप दिइसकेको छ। वेलायतमा गत वर्षको डिसेम्बरदेखि नै अस्ट्राजेनिका र फाइजर बायोएनटेकको खोप लगाइराखिएको छ ।






