बन्द सफल पार्न मुख्यमन्त्री सडकमा !
सुर्खत, २३ माघ । नेकपाको दाहाल र नेपाल समूहले गरेको आमहड्तालमा कार्यकर्तादेखि मुख्यमन्त्रीसम्म सडकमा उत्रिएका छन् । बिहीबार यो समूहले आयोजना गरेको बन्द सफल पार्न भन्दै वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीहरु पनि सडकमा उत्रिएका थिए । आन्दोलनलाई सफल बनाउन मुख्यमन्त्री शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी पनि सडकमा उत्रिएका थिए । मुख्यमन्त्री शाहीसहित मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध सडकमा आउनु परेको बताएका थिए ।
प्रधानमन्त्रीले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन गरेको र संवैधानिक निकायका पदाधिकारीसमेत गैरकानुनी नियुक्ति गरेको भन्दै त्यसकोविरुद्ध आन्दोलन आउनु परेको मुख्यमन्त्री शाहीले बताए ।यस्तै आन्दोलनलाई सफल बनाउन बन्दकर्ताहरु बजारका चोक–चोकमा पूर्वसांसद, नेता र कार्यकर्ताहरु विहानैदेखि सडकमा उत्रिएका थिए ।
आन्दोलमा उत्रिएका केही उग्रकार्यकर्ताहरुले बन्दमा मोटरसाइकल चलाएको भन्दै सुर्खेतको बुलबुले चौकमा एक व्यक्तिलाई कुटपिट गरेका हुन । त्यस्तै एयरपोर्ट चोकदेखि बजारतर्फ जाँदै गरेका भैरवी गाउँपालिका–१ दैलेखका जोरासिंह विष्टलाई बन्दकर्ताहरुले कुटपिट गरेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन ।