बाँकेमा थप ७ काेराेना संक्रमितको मृत्यु, मृतक सबै बाहिरी जिल्लाका

बाँके : बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा सात संक्रमितको मृत्यु भएको हो।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये तीन जना बर्दियाका, दाङ, दैलेख, सल्यान र रुकुमका एक/एक जना छन्। भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ, सोही गाउँपालिका–३ का ५५ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको हो।
यस्तै बाँसगढी गाउँपालिका–६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ। यस्तै तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको पनि बुधबार राति नै मृत्यु भएको छ।
यस्तै कालिमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिला तथा बाफिकोट–४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट हाल सम्म बाँके जिल्लाका दुई सय ९६ को मृत्यु भएको छ। यस्तै अन्य जिल्ला बाहिरका तीन सय दुई जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ। कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ। भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना, बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जनामा गरि कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेहरु मध्ये ६८ जना बाँकेका छन्। ३० जना महिला र ३८ जना पुरुष गरि जिल्लाका थप ६८ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म बाँकेमा ७९ हजार ५६६ जनाको पीसीआर परीक्षण भएको छ। आज जिल्लाका ४० जना डिस्चार्ज भएका छन्। २६ जना महिला र १६ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितिले जनाएको छ।





