नेप्से साताको अन्तिम दिन फेरि नयाँ उचाइमा

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबारले नयाँ कीर्तिमानी उचाइ चुमेको छ। नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गदै बिहीबार नयाँ उचाइ चुम्न सफल भएको हो।
नेप्से आज २९.५५ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाइ २८५६.६७ को विन्दुमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.११ को विन्दुको उचाइमा पुगेको छ। योसँगै नेप्सेले गत आइतबारको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
गत आइतबार नेप्सेले २८२७.९३ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ ।
यो दिन विकास बैंक समूह सर्वाधिक १४६.०२ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ११७.११ अंकले बढेको आज बैंकिङ समूहमा ५०.२५ अंक, वित्त समूहमा ६२.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१.२४ अंक, लघुवित्त समूहमा ४०.३५ अंक, जीवन बीमा समूहमा ५.१२ अंक, म्युचुअल फन्ड समूहमा ०.१९ अंक र लगानी समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ ।
यस्तै निर्जीवन बीमा समूह सर्वाधिक ११३.३ अंकले ओरालो लागेको छ। जलविद्युत समूह ६०.०३ अंकले घटेको बिहीबार व्यापार समूहमा ९.६८ अंक र अन्य समूहमा १५.९१ अंकको गिरावट आएको छ।






