भत्तामा दुख नदेऊ

जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् । त्यतिमात्र होइन, भविस्यको पुस्ताका लागि मार्गनिर्देशक पनि हुन् । नेपाली संस्कार अनुसार जेष्ठ नागरिकलाई आदर र सम्मान पनि गरिन्छ । पारिवारिक संरचनामा पनि जेष्ठ नागरिकलाई नै घरको मुली मानिन्छ । यहीकारण जेष्ठ नागरिक समाजका आदर्श हुन् ।

यही मान्यतालाई आत्मसात गर्दै सरकारले पनि जेष्ठ नागरिकलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । उमेर ढल्कदै जाँदा शारिरिक रुपमा अशक्त हुने र जीविकोपार्जनमा पनि कठिनाइ हुने भएकाले सरकारले उनीहरुको सम्मान गर्दै मासिक रुपमा बृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।

तर दुर्गम जिल्लामा भने सरकारले दिने यही सुविधाका कारण जेष्ठ नागरिकलाई सास्ती भइरहेको छ । भत्ता लिनकै लागि अशक्त अवस्थामा पनि जेष्ठ नागरिकहरु घण्टौ पैदल हिँड्न बाध्य छन् । त्यतिमात्र होइन, कतिपयलाई नै आफन्तले नै बोकेर बैंकसम्म लैजानुपर्ने बाध्यता छ । यसले जेष्ठ नागरिकलाई बढी सास्ती भइरहेको छ । सरकारी सेवाले नागरिकलाई सुविधा हुनुपर्छ ।

राज्यले पनि सेवा उपलब्ध गराउँदा नागरिकलाई सुविधा पुग्नुपर्छ । तर जेष्ठ नागरिकलाई दिइने भत्ताले सुविधाभन्दा पनि सास्ती बढी दिएको छ । सहरी क्षेत्रमा केही कम कठिनाइ भए पनि दुर्गम क्षेत्रमा बढी समस्या छ । सरकारले बैंकमार्फत भत्ता उपलब्ध गराउँदै आएको छ । दुर्गममा नजिक बैंक छैनन् । बैंकबाट भत्ता लिनका लागि पैदल नै हिँड्नुपर्ने बाध्यता छ ।


यातायातको सुविधा नभएको बस्तीमा जेष्ठ नागरिकलाई भत्ता लिनकै लागि बैंकसम्म पुग्न सहज छैन । यही कारण उनीहरुलाई आफन्तले बोकेर बैंकसम्म लैजानुपर्ने अवस्था छ । बैंकमा पनि सहज रुपमा उनीहरुले सुविधा पाउँदैनन् । बैंकमा हुने भीडका कारण जेष्ठ नागरिकहरु घण्टौंसम्म लाइनमा लाग्न बाध्य हुने गरेका छन् । अझ समस्या त के छ भने बास नबसेसम्म भत्ता लिन सक्ने अवस्था छैन ।

मासिक रुपमा उपलब्ध गराइने भत्ता लिनकै लागि बास बस्नुपर्ने र पैदल हिँड्नुपर्ने समस्याका कारण पनि रुपैयाँ खर्च हुन पुग्छ । यसले पनि जेष्ठ नागरिकलाई समस्या धेरै भइरहेको छ । जेष्ठ नागरिकलाई बुढेशकालमा सुविधा दिनु राज्यको दायित्व हो । यही दायित्व राज्यले बहन गरेको छ ।

विगतमा घरमै भत्ता दिने व्यवस्था थियो । तर कर्मचारीले नै बदबासी गरेको र वास्तविक व्यक्तिले भत्ता नपाएको गुनासो आयो । यहीकारण हाल बैंकमार्फत भत्ता दिने गरिएको छ । तर यसले पनि जेष्ठ नागरिकलाई सुविधा पुग्न सकेन । यसका लागि अब बैंकको सुविधा हरेक नागरिकलाई नजिकै उपलब्ध गराउनेतर्फ ध्यान दिन आवश्यक छ ।

त्यो सम्भव नभए जनप्रतिनिधिले नै जिम्मा लिएर जेष्ठ नागरिकलाई दैलोमै यो सुविधा उपलब्ध गराउन आवश्यक छ । घरमै जनप्रतिनिधिले आफै वा कर्मचारी खटाएर भत्ता वितरण गरेको खण्डमा दुर्गममा जेष्ठ नागरिकलाई शारिरिक पीडा हुने र मानसिक तनाव हुनेगरी बैंकसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्न सक्छ ।

भत्तामा दुख नदेऊ

चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा अवरुद्ध

भत्तामा दुख नदेऊ

यमनमा हुथी विद्रोहीको आक्रमणमा २५ जना मारिए

Leave a comment

Your email address will not be published. Required fields are marked *