आगलागी रोकथाम

कर्णालीमा विभिन्न प्रकारका विपद्हरु आउने गरेका छन् । विपद्कै कारण वर्सेनी
कर्णालीका जिल्लामा अर्बौंको भौतिक नोक्सानी हुने गरेको छ । मानवीय क्षतिको
अवस्था पनि बढी नै छ । त्यसमा पनि आगलागीका घटना हरेक वर्ष हुने गर्दछन् ।
मुख्यगरी प्रदेशका हिमाली र पहाडी जिल्लामा आगलागी बढी हुने गरेका छन् । पहाडी
जिल्लामा रहेका भिरालो स्थानका बस्तीमा लाग्ने आगोले बस्ती नै सखाप हुने गरेको
छ । पछिल्ला केही वर्षमा मात्र विभिन्न जिल्लामा भएका आगलागीका घटनाले पनि
यसको अवस्थालाई देखाएका छन् । आगलागीबाट बस्ती नै खरानी हुने, मानवीय
नोक्सानी हुने, पशुचौपायहरु पनि मर्ने र भौतिक सम्पति पनि गुम्ने गरेको छ । यसले
सर्वसाधारणहरु घरविहीन हुने गरेका छन् । आगलागी मुख्यतया मानवीय कारणबाटै हुने
गरेको छ । मानिसको लापरबाहीबाट आगलागीका घटनाहरु हुने गरेकाले पनि मानवीय
प्रयास र सावधानीबाटै यस्ता विपद्का घटनाहरु रोकथाम गर्न सकिन्छ ।

अधिकांश विपद्का घटनाहरु अकस्मात आउने गर्दछन् । आगलागी पनि पूर्व
जानकारी दिएर लाग्दैन । तर मानिसको त्रुटी र असावधानीका कारण आगलागी हुने
गर्दछ । आगोको सानो झिल्कोले पुरै बस्ती नै खरानी बनाएका धेरै घटना छन् ।
कर्णालीमा पनि आगलागीका घटनाले धेरै क्षति भोग्नु परेको छ । खरका छाना, बाक्लो
बस्ती, बस्तीमा पानीको अभाव हुनु, भिरालो स्थानमा बस्ती र बाक्लो घरहरुका कारण
पनि आगलागीले बढी क्षति गर्ने गरेको छ । आगलागीबाट प्रदेशका कालिकोट, मुगु,
जुम्ला, हुम्ला र डोल्पा लगायतका जिल्लामा बढी नोक्सान भइरहेको छ । सुख्खा र
खडेरीको समयमा लाग्ने आगो नियन्त्रण गर्नका लागि स्थानीय र प्रदेश सरकारसँग भने
कुनै दीर्घकालिन योजना भने छैन । घटना भएको बेलामा सरकारी टोलीले उद्धार गर्ने,
केही राहत बाँड्ने र योजना बुन्ने बाहेक सरकारी तवरबाट कुनै प्रयास भएको देखिदैन ।

आगलागीका घटना हुन नदिन सबैभन्दा पहिलो उपाय भनेको मानवीय सावधानी
नै हो । मानवीय कमजोरीका कारण आगलागी हुने गरेकाले मानवीय सचेतना र सर्तकता
आवश्यक छ । यस्तै अर्को पक्ष भनेको सरकारी प्रयासबाटै खरका छाना हटाउने, सुरक्षित
स्थानमा बस्ती बसाल्ने, पानीको व्यवस्थापन गर्ने र उद्धार तथा राहतका योजनालाई
प्रभावकारी बनाउन आवश्यक छ । यसले केही हदसम्म आगलागीका घटनाहरु रोक्न
सकिन्छ । अर्कोतर्फ स्थानीय र प्रदेश सरकारले पनि आफ्नो अवस्था अनुसार योजना र
रणनीति बनाउन सक्छन् । यस्तै प्रदेश सरकारले निर्माण गरेका कतिपय योजनाहरु पनि
कार्यान्वयन हुन सकेका छैनन् । प्रदेश सरकारले पनि प्रदेशका आगलागीको जोखिम
रहेका बस्तीहरुमा आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गर्न आवश्यक छ ।
यसले आगलागी भएको खण्डमा पनि त्यसलाई नियन्त्रणमा लिन सम्भव हुनेछ । अर्को
भनेको घटना भएपछि पनि उद्धार र राहतको काम पनि प्रभावकारी बन्न सकेको छैन ।
यसतर्फ पनि सरकारी निकायले गम्भिर भएर सोच्नै पर्दछ ।

तपाईको प्रतिक्रिया