पहिरोपीडित राहतको पर्खाइमा
जाजरकोट, ३१ असार ।
जाजरकोटका पहिरोपीडितहरु राहतको पर्खाइमा छन् । ठुलो जनधनको क्षति हुनेगरी बारेकोट गाँउपालिकामा गएको पहिरोमा भएको क्षति र विस्थापितको विवरण एकिन हुन सकेको छैन । भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद हुँदा क्षति र विस्थापितको विवरण एकिन हुन नसकेको हो । यसले राहत वितरणमा ढिलाइ भइरहेको छ ।
सरकारी कार्यालयले नै फरकफरक तथ्यांक प्रस्तुत गर्दा विस्थापितलाई राहत वितरणमासमेत समस्या र अन्यौल देखिएको हो । गत विहिवार गएको पहिरोमा परि ११ जनाको मृत्युको मृत्यु भएको छ । पहिरोमा पुरिएका एकजना अझै हराईरहेका छन् । बारेकोटकै वडा नम्बर ६ मा धुमा खोलाले दुई जनालाई बेपत्ता बनाएको छ । दुई जना घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । तर पहिरोले कति विस्थापित भए भन्नेबारे स्थानीय प्रशासन, प्रहरी र गाँउपालिकाले फरकफरक तथ्यांक पेश गरेका छन् । जिल्ला प्रशासनले दुईसय १३ घर, प्रहरीले तीनसय ७६ घर र गाँउपालिकाले आठसय ४० घर विस्थापित भएको तथ्यांक पेश गरेका छन् ।
केही वडाको तथ्यांक अझै आउन बाँकी रहेको गाँउपालिकाले जनाएको छ । विस्थापितको संख्या करीव एकहजार दुईसयभन्दा बढी हुने अनुमान छ । तर स्थानीय प्रशासनले सोमवारसम्म शनिवारकै तथ्यांक दुईसय १३ घर विस्थापित भएको गृहमा पठाएको छ । ठुलो संख्यामा स्थानीय विस्थापित भएको तर स्थानीय प्रशासनले गृह मन्त्रालय प्रहरीले दिएको पुरानै तथ्यांक पेश गर्दा विस्थापितको राहतका लागि सरकार गम्भिभर हुन नसकेको नेपाली काँग्रेस नेता बेदराज सिंहले बताए । तथ्यांक एकिन नभएपछि घटना भएको पाँच दिनपछि बसेको विपद् ब्यवस्थापन समितिको बैठकले तत्काल क्षतिको विवरण संकलन गरी विस्थापित परिवारको एकिन गर्ने र उनीहरुका लागि आवश्यक पर्ने राहत सामग्री ब्यवस्थापनका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै रेडक्रसबाट तत्काल ७५ परिवारका लागी गैरखाद्य सामग्री पठाउने, खाद्यन्न र त्रिपाल, कम्मल पठाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सञ्चार सम्पर्क विच्छेद भएको र यातायात सेवाको अभावले तथ्यांक संकलनमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पन्तले स्वीकार गरे । विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन् । तर सरकारले पठाउन सकेको छैन । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकोप्टरमा केही राहत सामग्री लिएर आएपनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका आठसय भन्दा बढी परिवार विस्थापित भएका छन् । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५÷६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।