कोरोना संक्रमति पहिचान तथा खोज तलास कार्यक्रम दैलेखमा

दैलेख, २१ असोज ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वस्थकर जीवन निर्वाह प्रणाली नै उत्तम उपाय भएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताएका छन् । स्वास्थ्य सेवा कार्यालयले आज दैलेख सदरमुकाममा आयोजना गरेको कोरोना संक्रमति पहिचान तथा खोज तलास कार्यक्रम सम्वन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट टेसिङ्गमा परेकाहरु नछुट्ने र कसैको सम्पर्कमा नपुगेर पनि लक्षण देखिएकाहरुलाई पीसीआर परीक्षण प्राथमिकता राख्नुपर्ने सुझाव दिएका थिए ।
स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णाली प्रदेशमा आज विहानसम्म पुष्टी भएका कुल ३८ सय ८९ मध्ये ८० प्रतिशत पुरुष रहेको र संक्रमितहरुको कुल संख्या मध्ये ९४ प्रतिशत २० देखि २९ उमेर समूहका युवाहरु रहेका जानकारी दिए । एक जना संक्रमित कम्तीमा दुईदेखि तीन जनासम्मलाई कोरोना सार्न सक्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनले जनाएकोले संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट टेसिङ्ग व्यवस्थित गर्न सरकारले प्रयास गरिरहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ कम्यूनिटी नर्सिङ्ग अधिकृत मानकुमारी गुरुङ्गले बताए ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारीले डेढ महिना पहिले आफू जिल्लामा आए लगतै सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य र सेनिटाइजर प्रयोग गर्न एसएमएस अभियानको उद्घोष गरे पनि यसको पालना नभएकोमा असन्तुष्टी व्यक्त गरे । दैलेख अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्त, डा. आशिष शर्मा, डा. बिश्वबन्धु खड्का, स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले कोरोना संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट टेसिङ्ग र संक्रमण रोकथाम विधि बारे सहजीकरण गरेका थिए ।
संक्रमति पहिचान तथा खोज तलास कार्यक्रम सम्वन्धी प्रशिक्षण कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा इञ्चार्ज सहभागी भएका थिए । सुर्खेतपछि कर्णाली प्रदेशमा यो दोश्रो प्रशिक्षण कार्यक्रम हो । प्रदेशका सबै जिल्लामा यो कार्यक्रम गरिने बताइएको छ ।





