शोभानचौरको स्वास्थ्य केन्द्र भवन उच्च जोखिममा

सुर्खेत, २३ साउन ।
बेतान शोभानचौरमा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र पहिरोको जोखिममा परेको छ । चौकुने गाउँपालिका वडा नं. ३ को बेतानमा पर्ने स्वास्थ्य इकाइ केन्द्र भवन नजिकै पहिरो जाँदा जोखिममा परेको हो । साउन १६ र १७ गते आएको अविलर बर्षादका कारण भवन नजिकै पहिरो गई जमिन भासिँदा स्वास्थ्य केन्द्रको भवन जोखिममा परेको वडा सदस्य केशर नाम्मजाली मगरले जानकारी दिनुभयो ।
पहिरोका कारण भवन उच्च जोखिममा परेपछि स्थानीय सेवाग्राही र स्वास्थ्यकर्मी भवनमा आएर सेवा प्रवाह गर्न डराइरहेका छन् । उक्त केन्द्रबाट शोभानचौर, जामुने, खारगाडी, कैलाली मोन्याल गाउँपालिका–३ साबा, ताम्चा, तरेखाका करिव ४५० घरधुरीले नियमित सेवा लिदै आएका थिए । तारजाली लगाएर तत्काल तटबन्ध नगरी भवन भत्किएर करोडौंको सरकारी सम्पत्तिमा क्षति पुग्ने भएकाले तत्काल पहिरो गएको स्थानमा तारजाली, तटबन्ध आवश्यक रहेको अहेव पुस्कर बहादुर घर्तीमगरले जानकारी दिनुभयो ।







