सल्यानमा फस्टाउँदै माछापालन व्यवसाय

सल्यान, २० असोज ।
राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरुको आकर्षण माछापालनमा बढ्दै गएको छ । थोरै लगानी र क्षेत्रफलमा धेरै आम्दानी हुने भएकाले माछापालनतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो । आम्दानी राम्रो भएका कारण खेतीयोग्य जमिनमा माछापालन व्यवसाय गर्नेहरुको संख्या बढिरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । खेती र मजदुरी गर्नेहरुको संख्या कम हुँदै गएको र माछाको माग पनि बढेपछि पोखरी खनेर माछापालन गर्नेहरुको संख्या बढेको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

कार्यालय प्रमुख उपाध्यायका अनुसार सल्यानमा पछिल्लो समय ९८ रोपनी क्षेत्रफलमा ३२ जना किसानले व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले भने’ ‘माछापालन व्यवसाय विदेशबाट आएका युवाहरु र केही विगतदेखि आफ्नै जग्गाजमिन भएका किसानहरुले गर्दै आइरहेका छन् ।’ माछापालनबाट सल्यानमा वार्षिक ६० लाख आम्दानी भइरहेको कार्यालयले जनाएको छ। उत्पादन भएको माछा केही दाङ र सुर्खेत जाने भए पनि अधिकांश जिल्लामै खपत हुँदै आइरहेको छ । सल्यानमा वार्षिक १२ मेट्रिक टन माछा उत्पादन भइरहेको उपाध्यायले बताए । थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने र एक पोखरीबाट पाँचदेखि ६ क्विन्टल माछा उत्पादन गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ । बजारको माछाको माग बढेसँगै माछापालनमा लागेको शारदा नगरपालिका–६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए।
बजारको मागअनुसार माछा पु¥याउन नसकेको उनको भनाइ छ। माछा लिन पोखरीसम्म व्यापारीहरु आउने गरेको भण्डारीले बताए। उनले भने’ ‘सुरुमा भात खाने खेतमा पोखरी खनेको भन्दै घरपरिवारबाटै विरोध भयो । तर त्यही पोखरीबाट राम्रो आम्दानी भएपछि घरपरिवारले पनि सहयोग गरे।’ एक लाख लगानीबाट झन्डै तीन रोपनी क्षेत्रफलमा माछापालन सुरु गरेका भण्डारीले साउन महिनायता मात्र तीन लाख आम्दानी गरेको बताए । अन्नबालीभन्दा माछापालनबाट राम्रो आम्दानी लिन सकिने अर्का किसान धनबहादुर बुढा मगर बताउँछन् । मगरले लकडाउन यता ७५ हजार रुपैयाँ आम्दानी भएको बताए । ६ हजार भुराबाट गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताउँदै उनले अन्य खेतीभन्दा माछापालन निकै राम्रो भएको बताए ।






