राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार जनाको उम्मेदवारी

सुर्खेत : राष्ट्रिय सभाको सदस्यका लागि कर्णालीमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । दुईजना सदस्य लागि चार जनाको उम्मेदवारी दर्ता भएको हो । सत्तारुढ नेकपाको तर्फबाट दुई र नेपाली काँग्रेसका दुईजना गरी चार जनाले आइतवार उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा महिला र अन्य सदस्य गरी दुई सिटमा निर्वाचन हुँदैछ । यसका लागि नेकपाबाट जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतका सुवित्रा विसीले उम्मेदवारी दर्ता गराए । यस्तै नेपाली काँग्रेसबाट सुर्खेतका डिल्लाराम पाठक र सुर्खेतकै गणेशकुमारी बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

                                                                                 काँग्रेसका उम्मेदवार  

नेकपाका उम्मेदवार शर्माको प्रस्तावकमा प्रदेश सांसद करवीर शाही र समर्थकमा प्रदेश सांसद ठम्मरबहादुर विष्ट छन् । त्यस्तै विसीको प्रस्तावकमा प्रदेश सांसद देवी वली र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल समर्थक रहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार पाठकको प्रस्तावकमा प्रदेश सांसद यज्ञबहादुर विसी र सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन समर्थक छन् । बस्नेतको प्रस्तावकमा भने सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र समर्थकमा बराहताल उपाध्यक्ष शोभाकुमारी शर्मा समर्थक रहेका छन् ।

                                                            नेकपाका उम्मेदवार

राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णालीमा एक सय ९८ जना मतदाता रहेका छन् । प्रदेशका ७९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ५८ र ४० जना प्रदेशका सांसदले मतदान गर्नेछन् । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ४० जना र ६ जना प्रदेश सभा सदस्य गरी काँगेसका जम्मा ४६ जना मात्र मतदाता रहेका छन् ।

त्यस्तै नेकपाका भने स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एक सय १० तथा ३३ जना प्रदेश सभा सदस्य गरी कुल एक सय ४३ जना मतदाता छन् । कर्णालीमा स्थानीय तहको उपप्रमुखमा राप्रपाका दुई र प्रदेश सभामा एक गरी तीन जना मतदाता छन् । कर्णालीमा ६ जना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका मतदाता छन् ।

रातारात बस्नेतको ‘इन्ट्री’

काँग्रेसले कर्णालीमा सुर्खेत निवासी सावित्री पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर पौडेलले केन्द्रको निर्णय नमान्ने भन्दै उम्मेदवारी दर्ता गर्न अस्विकार गरिन् । पौडेलले अन्तिम समयसम्म पनि नमानेपछि उनको स्थानमा सुर्खेतकै गणेशकुमारी बस्नेतको इन्ट्री भएको हो । आफ्नो इच्छा विपरित केन्द्रले जबर्जस्ती उम्मेदवार बनाएको भन्दै पौडेलले उम्मेदवारी दर्ता गर्न नमानेकी हुन् ।

उनले उम्मेदवारी नदिएपछि काँगेसले अन्तिम समयमा आएर सुर्खेतकै बस्नेतको उम्मेदवारी दर्ता गराएको हो । ‘पार्टीले मलाई उम्मेदवार बन्न प्रस्ताव गरेको थियो, तर मैले हुन्न भनेकी थिएँ’ पौडेलले भनिन्, ‘नेपालमा आदर्शको राजनीति नै छैन, म राष्ट्रिय सभाका लागि आवश्यक छैन ।’

पौडेल सुर्खेतमा काँगे्रसको राजनीतिमा लामो समयदेखी सक्रिय थिइन् । कर्णालीमा काँगैसले हार्ने निश्चित हुँदाहुँदै पनि पार्टीले जबर्जस्ती उम्मेदवार बनाएकाले पौडेलले उम्मेदवार बन्न नमानेको उनी निकट स्रोतले जनाएको छ । जीवनभर निष्ठाको राजनीति गर्नेलाई पार्टीले न्याय गर्न नसकेको भन्दै पौडेलले उम्मेदवार बन्न अस्विकार गरेको बताइन् ।

लामा र मल्ल बिदा हुँदै

यसअघि कर्णाली प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य युटोन लामा र कालिबहादुर मल्ल विदा हुन लागेका छन् ।

उनीहरुको दुईवर्षे कार्यकाल सकिन लागेको हो । लामा र मल्लको कार्यकाल आगामी माघ २० गते सकिदै छ । दुबै जना तत्कालिन माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा गोला प्रथाबाट लामा र मल्लको दुईवर्षे कार्यकाल टुङ्गो लागेको थियो । उनीहरुको स्थानमा निर्वाचन हुन लागेको हो ।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

नेकपाका उम्मेदवार मायाप्रसाद शर्माले कर्णालीको समृद्धिका लागि पहल गर्ने बताए ।

‘कर्णाली उत्पीडित र उपेक्षित वर्गहरु बस्ने ठाउँ हो, विकास निर्माणको सन्दर्भमा अन्य प्रदेशको तुलनामा कर्णाली निकै पछाडि छ’ शर्माले भने ‘प्रदेशले भर्खरै विकासको पाइला चाल्न थालेको छ, अब विकासलाई तीव्र गतिमा अगाडि बढाउन पहल गर्नेछु ।’

यस्तै नेकपाकै उम्मेदवार सुमित्रा विसीले कर्णाली जनताको आवाजलाई केन्द्रसम्म पु¥याउने बताइन । ‘कर्णालीको विकास निर्माणका लागि जनताले केन्द्रसँग ठूलो अपेक्षा गरेका छन्’ सुमित्रा विसीले भनिन्‘ कर्णालीवासीको आजाव केन्द्रसम्म पु¥याउनेछु ।’

यस्तै नेपाली काँग्रसका उम्मेदवार डिल्लाराम पाठकले नेकपाको सरकार भए पनि जनताको भावना अनुसार काम नगरेको बताउँदै निर्वाचितपछि जनताको भावना अनुसार विकास निर्माण बताए । यस्तै काँग्रेसकै उम्मेदवार गणेशकुमारी बस्नेतले निर्वाचित भएपछि जनताको सेवा गर्ने बताइन् ।

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार जनाको उम्मेदवारी

हवाई सेवा सुचारु

Leave a comment

Your email address will not be published. Required fields are marked *