सोतीगाउँ : बेपत्ताको सशस्त्र प्रहरीका गोताखोरबाट खोजी सुरु

सुर्खेत, १४ जेष्ठ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँ घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य सुरु गरिएको छ । नेपाल सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार विहानदेखि भेरी नदीमा खोजी कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शम्सेरगञ्जका सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश थापाको कमाण्डमा आएका चार जनाको गोताखोर प्राविधिक टोलीले स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरेको छ ।

भेरी नगरपालिका–१ को कालेगाउँबाट स्थानीयको सहयोगमा भेरी नदीमा खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर ४ जनासहित स्थानीय समुदाय २० देखि २५ जना परिचालित भएको जनाइएको छ । सशस्त्र प्रहरी गुल्म जाजरकोटका डिएसपी यज्ञ बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी रुकुम पश्चिमबाट समेत टोली परिचालित भएको जनाइएको छ ।

सोती गाउँ घटनामा जाजरकोट जिल्ला भेरी नपा–११ का तीन जना क्रमशः १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही र २१ वर्षीय सञ्जु बिक हालसम्म घरपरिवारको सम्पर्कमा नभएपछि भेरी नदीमा बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी डिएसपी वस्नेतले जानकारी दिए ।

रुकुमपश्चिम चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते साँझ कुटपिटबाट जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, भेरी न.पा. ११ का १७ बर्षिय गणेश विएम र रुकुम जिल्ला चौरजहारी न.पा.–१ का २० वर्षीय टीकाराम विश्वकर्माको शव भेरी नदि किनारमा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया