बालमैत्री विद्यालय बनाउने प्रतिबद्धता
सुर्खेत, १९ असोज ।
सुर्खेतका विद्यालयहरुलाई बालमैत्री बनाइने भएको छ । शिक्षामा चासो राख्ने सरोकारवालाहरुले सुरक्षित सिकाइका लागि बालमैत्री विद्यालय बनाउने साझा प्रतिबद्धता जनाएका हुन् । साथै उनीहरुले सुरक्षित विद्यालय अबको आवश्यक्ता भएकोमासमेत जोड दिएका छन् ।

जिल्लाका लेकवेशी र भेरीगंगा नगरपालिका स्थानीयले यस्तो प्रतिबद्धता जनाएका हुन् । भिएसओ नेपालको सहयोगमा ग्लोवल एक्सन नेपाल र नगर शिक्षा शाखाको सहकार्यमा भएको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । विद्यालयलाई सुरक्षित र हिंसारहित बनाउन सामुहिक रुपमा काम गर्ने उनीहरुको भनाइ छ ।
सुर्खेतमा विद्यालय तथा समुदायमा बालबालिकाहरुको सुरक्षाको प्रवद्र्धन गर्र्दै सिकाइका लागि अनुकूल वातावरण निर्माण गर्न जिल्लाका पाँच वटा स्थानीय तहका १२ वटा सरकारी विद्यालयमा सुरक्षित सिकाइ परियोजना संचालन गरिएको छ । सोही परियोजनामार्फत कार्यक्रम संचालन भइरुहेको कार्यक्रम संयोजक यादव भुसालले जानकारी दिए । ग्लोवल एक्सन नेपालले हाल वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी, गुर्भाकोट र बराहतालका १२ वटा सामुदायिक विद्यालयहरुलाई लक्षित गरी सुरक्षित सिकाइ परियोजना संचालन गरिएको हो ।
६ महिनासम्म संचालन हुने परियोजनाले विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक संघ र बालबालीकाहरुसँग सहकार्य गरी विद्यालयमा सुरक्षा नीतिहरु समावेश गर्न उत्प्रेरित गरिने छ । परियोजनाको अवधिमा विद्यार्थीहरुलाई सुरक्षित सिकाइ स्थापनाका लागि स्वंमसेवक परिचालन, अभिभावकहरुलाई सचेतना, सुरक्षित विद्यालय बनाउनका लागि लैगिकमैत्री विद्यालय निर्माण, युवा क्लव परिचालन, वाल क्लव प्रवर्धन, बालसंरक्षण प्रर्वधन लगाएतका कार्यक्रमहरु संचालन गरिने छ । यस्तै स्थानीय तहका शिक्षाका सूचना व्यवस्थापनमा सहयोग, सहकार्य तथा समन्वयमुलक कार्यक्रहरुसमेत संचालन हुनेछन् ।
लेकवेशी नगरका प्रमुख गगनसिंह सुनारले आफ्नो नगरभित्र बालमैत्री विद्यालय निर्माणमा लाग्ने बताए । यस्तै भेरीगंगामा आयोजित छलफल कार्यक्रममा वोल्दै नगरका उपप्रमुख रेणु आचार्यले बालबालीकाको सुरक्षित सिकाइ निर्माणका लागि आफुहरुले सहकार्य गरी विद्यालयमा अभियान संचालन गर्ने बताइन् । दुबै पालीकाभित्र रहेका विभिन्न धार्मिक क्षेत्रका व्यक्ति, राजनैतिक दलका प्रतिनिधि, शिक्षाशाखाका प्रमुख, विद्याल यव्यवस्थापन समितिका पदाधिकारी, शिक्षक संघसंगठनका प्रतिनिधि र वडाअध्यक्षलगाएतको सहभागिता थियो । भेरीगंगा नगरका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माले बालबालिकाहरुको सिकाइलाई विद्यालय तहमा उनीहरुको विकास हुने खालका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।




