सल्यान, १९ असोज ।
सल्यानमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा ८ करोड रुपैयाँभन्दा बढी भएको छ । जिल्लाका १० स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालयले २०७६÷०७७ मा ८ करोड २८ लाख ६० हजार रुपैयाँ खर्च गरेका हुन्। स्थानीय तहले मात्र ७ करोड ३१ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानले १८ लाख ८० हजार र स्वास्थ्य सेवा कार्यालय सल्यानले ७८ लाख ७१ हजार रुपैयाँ खर्च गरेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट खर्च गरिएको रकमबाट सुरक्षाकर्मी र कर्मचारीका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको जानकारी दिएको छ । यस्तै सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रबाट काम भइरहेको जानकारी दिए ।
चाडपर्वको समयमा नागरिकहरु जिल्लामा धेरै भित्रिन सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापनका लागि क्वारेन्टाइन निर्माणलगायत तयारी गर्न स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिए । स्थानीय तहमध्ये सबैभन्दा धेरै बागचौर नगरपालिकाले १ करोड ५० लाख ६८ हजार रुपैयाँ बजेट खर्च गरेको छ । क्वारेन्टाइन निर्माणमा ३ लाख, क्वारेन्टाइनमा बस्नेहरुको खान बस्न खर्च ३० लाख, आइसोलेसन निर्माणको तयारीका लागि सामान खरिद ९ लाख, स्वास्थ्य उपकरण खरिदमा १६ लाख, राहत वितरणमा २३ लाख, स्वयंसेवक परिचालनमा ३८ लाख, स्वास्थ्यकर्मी लगायतलाई प्रोत्साहन भत्ता बापत २४ लाख लगायतका शीर्षकमा बजेट खर्च भएको नगरपालिकाले जनाएको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ करोड १० लाख ८६ हजार खर्च गरेको छ ।
जिल्लामा नै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको यस नगरपालिकामा क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, उद्धार तथा राहत वितरणलगायत कार्यमा रकम खर्च भएको नगरप्रमुख गोविन्द कुमार पुनले जानकारी दिए । यस्तै शारदा नगरपालिकाले ४८ लाख ५२ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै दार्मा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा बजेट खर्च गरेको छ । यस गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तसम्म ८६ लाख २९ हजार रुपैयाँ खर्च गरेको छ ।
क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, बाहिरबाट फर्किएका नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री खरिदलगायत कार्यमा खर्च भएको गाउँपालिकाले जनाएको छ । कालीमाटी गाउँपालिकाले ८१ लाख ४६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । औषधि खरिदमा ११ लाख, अलपत्र गाउँपालिकावासीको उद्दार कार्यमा १० लाख, राहत वितरण, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन कार्यमा रकम खर्च भएको गाउपालिकाले जनाएको छ । यस्तै कुमाख गाउपालिका र छत्रेश्वरी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ७०÷७० लाख रुपैयाँ खर्च गरेका छन् । यस्तै क्वारेन्टाइन व्यवस्थापनमा १० लाख, आइसोलेसन निर्माण तथा व्यवस्थापनमा ९ लाख, स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा १२ लाख, राहत वितरणमा ३ लाख साथै अन्य शीर्षकमा ५० लाख २९ हजार रुपैयाँ खर्च भएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
त्रिवेणी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ३८ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले क्वारेन्टाइन व्यवस्थापन, नागरिकको उद्दार, स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापन, एक हजार घरपरिवारलाई २ चरणमा राहत वितरणलगायत कार्यमा रकम खर्च भएको जानकारी दिए । सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकाले बजेट खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

