कोरोनाको त्रास ः कारागारबाट छुट्न थाले कैदी

सुर्खेत, २२ चैत ।
कोरोना भाइरसको त्रासका कारण सरकारले कारागार भित्रको चाप घटाउन थालेको छ । कोरोना फैलिएमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरका कारागारमा चाप घटाउन थालेको हो । यही क्रममा कर्णालीका विभिन्न कारागारमा रहेका कैदीलाई पनि रिहा गर्न थालिएको छ ।

कारागारको चाप घटाउन सरकारले कम कैद सजाय तोकिएका, अशल आचरण भएका र कैद भुक्तानी थोरै बाँकी भएकालाई आवश्यक प्रक्रिया पु¥याएर छोड्ने गरेको छ । एक वर्षभन्दा कम कैद तोकिएका कैदी बन्दीलाई बाँकी सजायको धरौटी तिराएर रिहा गर्ने व्यवस्था गरेको छ । जसअनुसार कर्णाली प्रदेशबाट हालसम्म १० कैदी जेलमुक्त भएका छन् । उनीहरुलाई बाँकी सजाय माफी दिएर छाडिएको हो ।

कर्णालीका आठ वटा कारागार मध्ये सुर्खेतबाट सबैभन्दा बढी अर्थात सात जना कैदी छुटेका छन् । त्यस्तै डोल्पाबाट एक, रुकुमपश्चिममा एक र जुम्लाबाट एकजना गरी शुक्रवारसम्म कर्णाली प्रदेशबाट दश जना कैदी रिहा भएका छन् । बाँकी कैद अवधिको रकम असुल गरी रिहा भएका उनीहरुले समाजमा गएपछि राम्रो गर्ने, गलत काम नगर्ने लिखित प्रतिबद्धतासमेत गरेका छन् । तर कोरोनाको त्रासपछि कालिकोट, दैलेख, सल्यान र जाजरकोट कारागारबाट भने एक जना पनि कैदी मुक्त भएका छैनन् । ती कारागारबाट कैद मिनाहका लागि केही व्यक्तिहरुको सिफारिस भएको र उनीहरु कानूनी प्रक्रियामा रहेको सम्बन्धित कारागारले जनाएका छन् ।

जो आर्थिक अभावले रिहा हुन पाएनन्…

कोरोनाको त्रासपछि सरकारले कारागारको चाप हटाउन एक वर्षभन्दा कम कैद सजाय तोकिएका, अशल आचरण भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक कानूनी प्रक्रिया पु¥याएर छोड्न थालेको छ । यही क्रममा सुर्खेतबाट कैद मिनाह हुँदै छुटकारा पाउनका लागि २५ जनाको रिफारिस भएको थियो ।


जसमध्ये आवश्यक कानून प्रक्रिया पुरा गरी पहिलो चरणमा नौ जनालाई रिहा गर्ने निर्णय भएको छ । तर आर्थिक अभावका कारण दुई जना कैदीबन्दीले भने छुटकारा पाउन सकेका छैनन् । जेलमुक्तका लागि अदालतबाट आदेश पाए पनि बाँकी कैद बापतको रकम तिर्न नसक्दा वीरेन्द्रनगर वडा नम्बर ४ का सत्रपिटर सारुमगर र बराहताल गाउँपालिका वडा नम्बर ४ का टिकाराम राजी कारागारबाट मुक्त हुन सकेका छैनन् । राजी ज्यान मार्ने उद्योग र सारु लागुऔषध कारोबारमा जेल चलाएन भएका थिए ।

यद्यपी सरकारले दिएको सुविधा उपयोग गर्दै कारागारबाट मुक्त गर्न परिवारले आर्थिक रकम जुटाइरहेको कारागारको भनाइ छ । उनीहरु के कति रकम तिर्नुपर्छ भन्ने विषयमा भने अदालत र सम्बन्धित व्यक्तिलाई मात्रै थाहा हुने कारागारले जनाएको छ । राजी र सारुले बाँकी कैद बापत राज्यलाई बुझाउनुपर्ने रकम बुझाएको खण्डमा जुनसुकै बेला रिहा हुनसक्ने सुर्खेत काराकार प्रमुख भुवन गौतमले जनाए ।

भेटघाट पनि बन्द
कोराना भाइरसको संक्रमण फैलिने सम्भावनालाई रोक्न थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ । कोरोना त्रासका कारण कर्णालीका सबै कारागारमा भेटघाट बन्द गरिएको सम्बन्धित कारागारले जनाएका छन् ।

भेटकाघट बन्द गरेको भए पनि कारागारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु आपूर्ति गर्दा र कारागार प्रशासनका कर्मचारी आवतजावत गर्दा विशेष सावधानी अपनाइएको सम्बन्धित कार्यालयले कारागारहरुले जनाएका छन् ।

त्यस्तै कोरोनाको त्रासले कर्मचारी र कैदीबन्दी दुरी कायम राख्न, आवश्यकता बाहेकका बेला कैदीबन्दी रहेको क्षेत्रमा प्रवेश नगर्न, निरन्तर साबुनपानीले हात धुन, सेनिटाइजर तथा मास्कको प्रयोग गर्न र सरसफाइमा विषेश ध्यान पु¥याएका छन् । शुक्रबार मात्रै सुर्खेतस्थित कारागारमा रहेका कैदीहरुको स्वास्थ चेकजाँच गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार