कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो, ११ जनाको मृत्यु

काठमाडौं, १५ असोज ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा मृत्युहुनेमा १ जना महिला र १० जना पुरुष रहेको बताए ।
कोरोना संक्रमणबाट बाँकेकी ३४ वर्षीया महिलाको मृत्यु भएको हो । त्यसैगरी मृत्यु हुनेमा सुनसरीका ५६ वर्षीय, ५० वर्षीय र २७ वर्षीय रहेका छन् । काठमाडौँका ७८ वर्षीय र ६८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी रुपन्देहीका ८० वर्षीय, ५५ वर्षीय र ४२ वर्षीय पुरुषको कोरोनाले निधन भएको हो । संक्रमित हुनेहरुमध्येबाट मृत्यु प्रतिशत ० दशमलव ६५ रहेको छ ।






