२०८२ बैशाख १७ गते
×

Now Playing

२० बर्ष नपुग्दै साढे १३ हजार किशोरी गर्भवती

सुर्खेत,

कर्णाली प्रदेशमा बालविवाह न्यूनिकरणका लागि विभिन्न अभियानहरु थालिए। बालविवाह न्यूनिकरणका सडक नाटकदेखि संसदसम्म प्रवेश पायो। पुरोहितहरुले समेत बालविवाह न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यो भन्दा ठूलो विषय राज्यले २० वर्ष नपुग्दै गरीने विवाहलाई अपराध नै मान्यो। संवैधानिक र लैंगिक समानताका आधारमा केटाकेटीको उमेर बराबरी हुनुपर्ने नियम बनायो। केटाकेटी दुबैको उमेर २० वर्ष तोक्यो  ।

२० वर्ष नपुग्दै विवाह गरेको खण्डमा ३ वर्ष कैद, ३० हजार जरिवाना र बिवाह वदर हुनेसम्मको कानून ल्यायो। तर यी नियम र कानूनले कर्णाली प्रदेशमा रतिभर प्रभाव नपारेको तथ्याङ्कले देखाएको छ ।

बालविवाहकै कारण पछिल्लो तीन बर्षमा करिब साढे १३ हजार किशोरीहरु गर्भवती भएका छन् । कम उमेरमै बच्चा जन्माउँदा सयौं किशोरीहरु मृत्युको मुखमा पुगेपनि नागरिकमा सचेतना पलाएको छैन । कर्णालीमा २० बर्ष नपुग्दै गर्भवती किशोरीको संख्या ३२ प्रतिशत रहेको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार सुर्खेत सबैभन्दा धेरै किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती हुने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतमा मात्रै दुई हजार सात सय २५ जना किशोरी गर्भवती भएका छन् । कर्णालीका दश जिल्ला मध्ये डोल्पामा २० वर्ष नपुग्दै गर्भवती हुनेको संख्या सबैभन्दा कम छ । डोल्पामा दुई सय १३ जना किशोरी मात्रै २० बर्ष नपुग्दै गर्भवती भएका छन् ।

तथ्याङक अनुसार मुगुमा सात सय ६४, हुम्लामा चार सय ८१, जुम्लामा आठ सय ९० जना किशोरी २० वर्ष नपुग्दै गर्भवती भएका छन् । यस्तै, कालिकोटमा आठ सय २५ जना, दैलेखमा एक हजार चार सय ५९ जना, जाजरकोटमा एक हजार चार सय दुई जना, रुकुमपश्चिममा दुईहजार सात सय २४ जना र सल्यानमा दुई हजार १ सय ५७ जना किशोरी २० वर्ष नपुग्दै गर्भवती भएका छन् । समग्रमा कर्णाली प्रदेशका दश जिल्लामा १३ हजार ६ सय ६८ जना किशोरीहरु गर्भवती भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *