सामुदायिक विद्यालयका शिक्षकका लागि पेशागत विकास तालिम : शिक्षा सुधारमा रुम टु रिड र पिस नेपालको सशक्त साझेदारी
कपिलवस्तु,१३ असार ।
सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक कक्षा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि पेशागत विकास सहयोग कार्यक्रम संचालन गरिने भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको आयोजना तथा रुम टु रिड र पिस नेपालको सहकार्यमा आयोजित जिल्ला स्तरीय प्रारम्भिक बैठकमा कार्यक्रमको जानकारी गराइएको हो।

बैठकमा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेयले सरकारले निर्धारण गरेको आधारभूत तहको एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा विद्यालयमा कार्यान्वयन गर्न यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले तालिमबाट प्राप्त सीपलाई विद्यालयमा व्यवहारमा उतारेर विद्यार्थीको पठनपाठन सुधारमा शिक्षकले भूमिका खेल्नुपर्ने बताए।
रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलका अनुसार कपिलवस्तुका बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा सञ्चालन भइरहेका साक्षरता तथा वालिका शिक्षा कार्यक्रमसँगै अब जिल्लाका १० वटै पालिकामा प्रारम्भिक कक्षा शिक्षकका लागि कस्टमाइज तालिम सञ्चालन गरिनेछ।

प्रत्येक पालिकाबाट ३/३ जना शिक्षकलाई स्रोत शिक्षकका रूपमा प्रशिक्षक प्रशिक्षण दिई पालिका स्तरमै तालिम सञ्चालनको वातावरण बनाइने पोखरेलले जानकारी दिए। साथै, रुम टु रिडका साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल र कार्यक्रम व्यवस्थापक स्मीता नेपालले एकीकृत पाठ्यक्रममा आधारित तालिमले विद्यार्थीको सिकाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउने बताए।

पालिकाका शिक्षा शाखा प्रमुखहरूद्वारा जनशक्तिको अभावका कारण समयमै तालिम तथा कक्षा अवलोकन हुन नसकेको बताउँदै, यस्तो कार्यक्रमले शिक्षकको पेशागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले शिक्षकको कार्यदक्षताको मूल्याङ्कन कक्षाकोठा अवलोकन तथा सुचकका आधारमा गरिनुपर्ने र तालिम तथा मूल्याङ्कनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

बैठकमा सामाजिक विकास डिभिजन कार्यालयका प्रतिनिधि, पालिकाका शिक्षा शाखा प्रमुखहरू, रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलको सहजीकरण तथा पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुढाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
यस कार्यक्रमले सामुदायिक विद्यालय शिक्षालाई व्यवहारिक बनाउँदै शिक्षामा दीर्घकालीन सुधारको जग खनिन सक्ने अपेक्षा गरिएको छ।






