दुर्गा माविका एक सयबढी विद्यार्थीको स्वास्थ्य परिक्षण


जुम्लाको तातोपानी गाउँपालिका–५ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थीलाई चेकजाँच गरिएको छ । विद्यालयमा अध्ययनरत १सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो ।
जुम्लाको र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोली चेकजाँच गर्न पुगेको हो । हिउँदे याम सुरुभएसँगै अत्यधिक चिसो बढेकोले बालरोग विशेषज्ञ डा. कमलप्रसाद थानीको नेतृत्वको चिकित्सक टोली विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न विद्यालयमा पुगेको प्रतिष्ठानले जनाएको छ ।
विद्यार्थीको नाक, कान, घाँटीको जाँच गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक तथा विशेषज्ञ डा. पुजन रोकायाले बताए । उनका अनुसार आँखा, छाला र मुटुको समेत चेक गरिएको छ ।
चिकित्सक टोलीले विद्यार्थीको स्वास्थ्यमा देखिएको समस्याका आधारमा निःशुल्क औषधि उपलब्ध गरिएको बालरोग विशेषज्ञ डा. थानीले बताए । विद्यालयमा चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि विद्यार्थीका अभिभावक खुसी छन् । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपाने विद्यालयमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेकोमा विद्यार्थीहरु उत्साहित बनेको बताउँछन् ।
‘कैयन विद्यार्थीहरु आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न सकेका थिएनन् । केही विद्यार्थीहरु अस्पतालसम्म पुगे पनि विशेषज्ञ सेवा पाउन सकेका थिएनन्,’ अध्यक्ष न्यौपानेले भने,‘ अस्पतालको टोली नै विद्यालयमा पुगेपछि मन खोलेर विद्यार्थीले स्वास्थ्य जाँच गराए । विद्यार्थीमा देखिएको समस्याको औषधि पनि विद्यालयमै पाए ।’
उनका अनुसार पहिलोपटक विशेषज्ञ चिकित्सक सहितको १५ जनाको टोली विद्यालयमा पुगेर विद्यार्थीको स्वास्थ्य जाँच गरेको हो । पटकपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय र समुदायस्तरमा विशेषज्ञ टोली पठाएर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ । यसअघि जुम्लाको पातारासी गाउँपालिकाको विद्यालयहरुमा पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो ।






